झापा , कात्तिक ११ । झापाको गौरीगञ्ज ५ पेट्रोल पम्पनजिकै भित्री सडकमा हिजो बेलुका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

बेलुका करिब ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३प ६३६४ नं को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको को२८प ३०८६ नं को अर्को मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा ६३६४ न.को मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका ३ बस्ने ६० वर्षीय कैलाप्रसाद ताजपुरियाको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै ६३६४ नं को मोटरसाइकल चालक कैलाप्रसाद ताजपुरिया र अर्का मोटरसाइकल चालक रतुवामाई नगरपालिका वडा नं ६ बस्ने २५ वर्षीय तुलसीप्रसाद ताजपुरियालाई उपचारका लागि दमकको निम्स हस्पिटल लगिएको थियो । कैलाप्रसादलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

अर्का घाइते तुलसीप्रसादको उपचार भइरहेको र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्