झापा, कात्तिक १२ । कोशी प्रदेशमा दशैँको ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको छ भने २६५ जना घाइते भएका छन् ।

कात्तिक ५ गते फुलपातीका दिनदेखि ११ गते कोजाग्रात पूर्णिमाको दिनसम्म १६ जनाको मृत्यु भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

यस अवधिमा १३५ वटा सवारीसाधन दुर्घटनामा परेका थिए भने ती दुर्घटनामा परेर ४१ जना गम्भीर घाइते भए । यस्तै २२४ जना सामान्य घाइते भएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । दशैँमा ६ हजार ६२८ वटा सवारीसाधनलाई कारवाही गरिएको उनले बताए । कारवाही गरिएको सवारीसाधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७९–०८० मा १८० वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो भने ४८ जना गम्भीर घाइते र २२६ जना सामान्य घाइते भएको प्रहरीको अभिलेखमा देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटनामा कमी आए पनि मृत्यु हुने संख्यामा भने कमी नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्