झापा, कात्तिक १३ । कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस र एमालेबीच छलफल भएको छ ।

सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।

माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए । उनले सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए एमाले सरकारमा बस्न नसक्ने अडान पनि आफूले बैठकमा राखेको जानकारी दिए ।

‘माओवादी, जसपा, एकीकृत समाजवादी तीन वटालाई सामेल गर्ने अनि हामी पनि त्यही बस्ने कुरा चाहिँ हामीले हुँदैन भनेका छौं । अब त्यसमध्ये कुनै एउटा थप्नै पर्ने परिस्थिति भयो , सहमति भयो हाम्रो कांग्रेस र एमालेको बीचमा भने , कुनै एउटा थपिन पनि सक्ला’ प्रमुख सचेतक भण्डारीले भने ।

कांग्रेसले पनि गठबन्धनभित्रको कुनै एक दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी कांग्रेस सांसद समशेर राईले जानकारी दिए ।‘कोशी प्रदेशको सवालमा गठबन्धनभित्रको थप एउटा थप्ने भनेपछि सकियो नि । सजिलो त्यही होला ’ उनले भने । एमालेको समर्थनमा कांग्रेसबाट बिद्रोह गरेका केदार कार्की गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्