झापा , कात्तिक १३ । बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार दिउँसो प्रिन्सिपल ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल सर्राफको गोली हानेर हत्या गरेको घटनामा संलग्न आरोपमा एक जनालाई पक्राउ गरिएको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।
एसपी काफ्लेले भने ‘ शंकास्पद एक जना नियन्त्रणमा छन्, अरु विषयमा अनुसन्धान भइरहेको छ।’ उनले अनुसन्धानपछि थप खुलेपछि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए।

घटनाको तीन घटना नबित्दै बारा प्रहरीले पूर्व शिक्षिकालाई कलैया बजारबाट पक्राउ गरेको हो। प्रहरीले उनको नाम भने खुलाएको छैन। पक्राउ परेकी ती महिला पहिला सोही स्कुलमा पढाउने गरेकी र सरार्फसँग नजिकको सम्बन्ध रहेको प्रहरी स्रोतले बताएको छ।पक्राउ परेकी उक्त महिलाको सरार्फको हत्यामा ठुलो हात हुनसक्ने अनुमान गरिएको बाराका प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

उनीमाथि सोमबार दिउँसो करिब १ बजेतिर अपरिचित समूहले गोली प्रहार गरेको थियो ।कलैया उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार स्कुलनजिक पुग्ने बेला उनलाई दुईवटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले घेरेर गोली प्रहार गरेका थिए ।

कलैया उपमहानगरको मुख्यबजारको मदरसा टोलमा उनलाई मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले तीन राउण्ड गोली प्रहार गरेर भागेका थिए ।

बारा प्रहरीका अनुसार सर्राफको टाउको र छातीमा गोली लागेको थियो । उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्जस्थित वयोधा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्