दमक,कात्तिक २५ । झापाको कमल गाउँपालिका– ७ मेमेङ टोलमा आज किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

१६ औ राष्ट्रिय विभूति र समाज सुधारक फाल्गुनन्दको जयन्तीका अवसरमा विश्व शान्तिको कामना गर्दै पूजापाठ गर्नुका साथै उनको जीवनी माथि चर्चा गरिएको थियो । किरात युमा माङहिम र फाल्गुनन्द आमा समूहको आयोजनामा भएको सो कार्यक्रममा सहभागी वक्ताहरुले महागुरु फाल्गुनन्द किरात धर्मावलम्बीको मात्र नभएर विश्व प्राणी जगतका लागि नै दर्शनदाता भएको औंल्याए ।

निर्माणाधिन माङहिम परिसरमा आयोजित विशेष जयन्तीमा किरात याक्थुङ चुम्लुङका पूर्व कन्द्रीय उपाध्यक्षसमेत रहेका किरात धर्मका अध्येयता हरि चोङबाङले किरात धर्म,भाषा,लिपी ,संस्कार संस्कृतिसंगै समाज सुधारका लागि महागुरु फाल्गुनन्दको योगदान अतुलनीय रहेको औंल्याएका थिए ।

माङहिमका सदस्य भिम केरुङ (चन्द्र) ले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा चुम्लुङ झापाका सल्लाहकार बिष्णु सुब्बा, जितबहादुर राई, माङहिम निर्माण समितिका संयोजक पूर्णकुमार मावोलगायतले महागुरु फाल्गुनन्दको जीवनीमाथि चर्चा गरेका थिए ।
माङहिमका अध्यक्ष भिमराज लिम्बूको अध्यक्षतामा भएको जन्मजयन्ती समारोहको सञ्चालन माङहिमकी कोषाध्यक्ष नन्दाकुमारी लिम्बूले गरेकी थिइन् ।

सो अवसरमा सेवासावा नरसिंह केरुङले पूजापाठ गरेका थिए भने जग्गादाता बुधमाया मावो, फाल्गुनन्द आमा समूहकी सल्लाहकार दिलकुमारी लाओती,माङहिमका पदाधिकारी तथा स्थानीय किरात धर्मावलम्बी,भक्तजनहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

सोही अवसरमा पाँचथरको फिदिमसहित फाल्गुनन्दको कर्मभूमि लव्रेकुटी, तपोभूमि शिलौती जोरपोखरी, फाल्गुनन्द गाउँपालिका, गोपेटार, मिक्लाजुङ, ताप्लेजुङ ,इलाम, तेह्रथुम, धनकुटा र मोरङलगायत स्थानका माङहिममा किरात धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम र पूजाआजासहित दिवस मनाएका छन् ।

फाल्गुनन्द जयन्तीका अवसरमा माङहिमहरुमा विशेष सेवा, पूजाआराधना, सांस्कृतिक कार्यक्रम, धार्मिक अनुष्ठान, प्रवचन र खेलकुद आयोजना गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ पाँचथरका अध्यक्ष ध्रुव तुम्बापोले बताए । विक्रम सम्वत् १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फलामसिंह लिङ्देन (फाल्गुनन्द) ले १९८८ वैशाख २४ गते पाँचथरको शिलौतीमा पूर्वी नेपालअन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजहरुलाई भेला पारेर सत्यधर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको बिगुल फुकेका थिए । त्यहीअनुसार किरात धर्मावलम्बीले कात्तिक २५ र वैशाख २४ गते विशेष कार्यक्रम आयोजना गरेर मनाउने गरेका छन् । सत्यधर्म मुचुल्का जारी गरेपछि फाल्गुनन्दलाई समाज सुधारकका रुपमा लिने गरिएको इतिहास छ । घरगाउँमा मदिरा सेवनका कारण दैनिकजसो हुने झगडा र मुद्दामामिलासम्म पुग्ने गर्छन् ।

इलाममा जन्मेर पाँचथरलाई कर्मभूमि बनाइ जीवनको अन्तिम घडीसम्म सांस्कृतिक अभियानको ज्ञानपुञ्ज छर्न उद्धत उनले प्रतिपादन गरेको सिद्वान्त र सांस्कृतिक अभियानलाई निरन्तरता दिन इलामको बाँझो– (लारुम्बा) र पाँचथरको शिलौतीलगायतका स्थानलाई किरात धार्मिक तथा सांस्कृतिक तथा धार्मिक पर्यटन केन्द्रमार्फत प्रचारप्रसार गरिँदैछ । उनको निधन २००५ चैत २२ गते भएको थियो । फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहिष्णुता, सद्भाव र समाजसुधारको कुरामा प्रदेश सरकार गम्भीर भएर लाग्ने बताएका छन् ।

महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको कार्यको प्रेरणा प्राप्त हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको बताए ।

‘हाम्रो देश धार्मिक, सामाजिक र सांस्कृतिक विविधताले युक्त छ । महागुरु फाल्गुनन्दका उपदेश र मार्गदर्शन सर्वदा शाश्वत, सार्वभौम र सार्वजनिक रहिआएका छन् । हामीले आफ्ना जीवनमा यी उपदेश र मार्गदर्शनको परिपालन गर्नसके समाज र राष्ट्रमा समन्वय, एकता, सहिष्णुता र सद्भाव चिरस्थायी हुने कुरामा शङ्का छैन । उहाँले समाजसुधारका निम्ति १९८८ वैशाख २४ मा स्थापना गर्नुभएको ‘सत्य धर्म मुचुल्काको नीतिलाई विश्व समुदायले अनुसरण गरिरहेको छ ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

महागुरु फाल्गुनन्दले किरात भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिमा पु¥याएको योगदानको राज्यले उच्च कदर गरेको र सम्मानस्वरुप नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको मुख्यमन्त्रीले स्मरण गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्