झापा, कात्तिक २८ । नेपालमा टिकटक बन्द भएको छ।

सोमबार मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै मंगलबार बन्द भएको हो। अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक एपमा प्रतिबन्ध लगाए पनि केहीले भने अझै आनाकानी गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।

त्यस्ता इन्टरनेट सेवा प्रदायकलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ। प्राधिकरणले विज्ञप्ति जारी गरेर सरकारको निर्णय अटेर गर्ने इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

‘प्राधिकरणको निर्देशन÷आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन÷आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुनसक्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविधि बढेको भन्दै सरकारले हालै सामाजिक सञ्जाल सञ्चालन निर्देशिका जारी गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्