झापा , कात्तिक ३० । फिफा विश्वकप सन् २०२६ र एएफसी एसिया कप सन् २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

समूह एचमा रहेका नेपाल र यूएईबीचको खेल दुबईको अल माक्तोउम स्टेडियममा आज राति नेपाली समय अनुसार साढे ९ बजे शुरु हुनेछ ।
नेपालले दोस्रो पटक यूएईसँग खेल्न लागेको हो । यसअघि सन् १९८४ मा एसिया कप छनोटमा नेपालले यूएईसँग खेलेको थियो । त्यसबेला नेपाल ११–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । समूहमा नेपालसँगै यूएई, बहराइन र यमन छन् । फिफा वरियतामा यूएई ६९औँ स्थानमा छ । बहराइन ८३ औँ र यमन १५६ औँ स्थानमा रहँदा नेपाल १७३ औँ स्थानमा छ ।

नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ । यो खेल दशरथ रंगशालामा हुनेछ । दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ ।
चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोल अन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्