दमक, मंसिर २६ । झापाको कमल गाउँपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसरजस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ ।

सोमबार र मंगलवार बृहत आयुर्वेद स्वास्थ्य शिविरसहित यो सेवा शुरु गरेको हो । कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्लेले सोमबार उद्घाटन गरेको आयुर्वेद स्वास्थ्य शिविरमा ५ सयजना भन्दा बढी विरामीले निःशुल्क जाँच तथा उपचार गराएका छन् । क्षारसूत्र विधिबाट पायल्सका विरामीको उपचार पनि शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताए ।

शिविरमा आएका विरामीहरुको निःशुल्क रुपमा सबै प्रकारका जाँच, उपचारका साथै औषधि बितरण गरिएको छ । डा. ठाकुरको नेतृत्वमा डा.रमेश पौड्याल (सर्जन), डा.निर्मल भुसाल (फिजिसियन), डा. मिथिलेस शाह, डा.मिशान्त ढकाललगायतले जाँच तथा उपचार गरेको कविर बेदप्रकाश शर्माले बताए ।

अस्पतालको स्तरोन्नतिसहित सेवा विस्तारको क्रममा अब नियमित रुपमा पाइल्स, फिस्टुला, फिसरजस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा.ठाकुरले जनाए । ‘क्षारसूत्र विधिबाट यस प्रकारको रोगको अब यहाँ सहज र सरल रुपमा उपचार हुन्छ’ उनले भने ।

५० बेड क्षमताको आयुर्वेद अस्पतालमा ईमरजेन्सीलगायतका सेवा समेत शुरु गर्न लागिएको छ । डा.ठाकुर आउनुअघि अस्तब्यस्त र सेवाविहीन रहेको अस्पतालले ६ महिनामा फड्को मार्दै गएको जनाईएको छ । पञ्चकर्म, भिडियो एक्सरे, ल्याव सेवा शुरु गरेपछि विरामीको चाँप समेत बढेको बताईएको छ । सरकारले तोकेको औषधिहरु विरामीले निःशुल्क पाउँदै आएका छन् । ‘अहिले भने औषधिको केही अभाव खड्किएको छ तर सकेसम्म हामी ब्यवस्थापन गर्दैछौ’ ठाकुरले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्