झापा, मंसिर २७ । मानव अधिकार संजाल झापाले आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीको गिरफ्तारीको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्नो निवासमा बसिरहेको अबस्थामा पूर्व सूचना वा प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी नदिई राति करिव ९ बजे आबश्यकताभन्दा बढी बलसहित आवासको मूल ढोकासहित अन्य ढोका तोडफोड गरेर पक्राउ गर्नु नागरिकको शान्तिपूर्ण ढंगले बाँच्न पाउने अधिकार कुण्ठित भएको संजालले ठहर गरेको छ । संजालका अध्यक्ष डा. रुपक खनालले एक प्रेस विज्ञप्ति जारी गरी प्रहरीले आफ्नो बल प्रयोग गर्दा कानुनसम्मत ढंगले प्रयोग गर्न र नागरिकको कुनै पनि अधिकारमा असर पुग्ने कार्य नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा ८ स्थित घरबाटै गएराति प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि हिजो दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको थियो ।

कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगिएको छ । संजालले नागरिकले प्राप्त गरेका विरोध प्रदर्शन वा फरक विचार राख्न पाउने स्वतन्त्रताको उपभोग गर्दा हिंसारहित शान्तिपूर्ण ढंगले आफ्ना विचारहरु प्रस्तुत गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्