बिर्तामोड, पुष ३ । मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी आज रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा २० हजार रुपैयाँ धरौटी तिरेर उनी रिहा भएका हुन् ।उनीमाथि मुख्यमन्त्रीको गाडीमा भएको तोडफोडको ५ लाख रुपैयाँको बिगो हालिएको थियो । अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएका चौधरीमाथि अनुसन्धान गर्न प्रहरीले दुईपटक म्याद थपेको थियो । पहिलो पटक पाँच दिन र त्यसपछि तीन दिन म्याद थप गरिएको थियो । ८ दिनको म्याद सकिएकाले अब म्याद थप नगरी रिहा गरिएको झापा प्रहरीले जनाएको छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका चौधरीलाई तीन दिनअघि नै रिहा गर्ने भनिएकोमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीका कारण उनलाई ८ दिनसम्म थुनामा राखिएको बताइएको छ । बन्द हड्तालमा उत्रिएका पूर्वमन्त्री गोपाल किरातीसहितका अन्य नेताहरु आइतवार साँझ नै रिहा भइसकेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्