कनकाई, पुष ५ ।झापाको कनकाई—२सुकेडाँगीस्थित कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीबाट उत्पादित ग्यास खेर फाल्ने गरिएको छ ।

गत असार महिनादेखि नै बायोग्यास उत्पादन भइरहेकोमा उत्पादित ग्यास उपभोक्तामाझ नपठाइ बालेर नष्ट गर्ने गरिएको हो ।सम्बन्धित पालिकाहरुका बीचमा समझदारी नबन्दा उपभोक्तामाझ बायोग्यास पुग्न ढिला भएको हो । समयमै उद्धेश्यअनुरुपको काम सम्पन्न गर्न उचित व्यवस्थापन हुन नसक्नु व्यवस्थापकीय कमजोरी भएको इन्जिनियर रुपक कार्कीले स्वीकार गरेका छन् । हाल दैनिक १सय ५० के.जी.सम्म शुद्ध बायोग्यास उत्पादन भइरहेको छ । कम्पनीमा ग्यास स्टोर गर्न आवश्यक सामग्रीको अभावका कारण बायोग्यासलाई फ्लेयर अथवा (बालेर नष्ट) गर्ने गरिएको इन्जिनियर कार्कीको भनाइ छ । हाल कम्पनीमा कार्यरत प्राविधिकहरुले दैनिक बायोग्यास नष्ट गर्दै आफ्नो अनुभव बढाउन प्रयोगात्मक कार्य गर्दै आइरहेका छन् । कम्पनीमा मासिक तलब खाने कामदार र प्राविधिकसहित १५ जना कर्मचारी कार्यरत रहेको बताइएको छ ।

कम्पनीमा स्टोर गरिएका एकसय वटा सिलिन्डरमा पूर्ण रुपमा भरिएको बायोग्यास हरेक दिन फ्लेयर गर्दै पुनः ड्रेन गर्ने गरेको इन्जिनियर कार्की बताउँछन् । जसका कारण वातावरणमा समेत प्रत्यक्ष असर पर्ने स्थानीयबासी बताउँछन् ।
स्थानीय उपभोक्ताको घर–घरमा बायोग्यास पुर्याउने प्रतिवद्धतासहित सुरुवात गरिएको योजनाबाट कहिले ग्यास उपभोग गर्न पाइने हो भन्ने अन्यौलता उपभोक्तामा छाएको हो ।

प्लान्टको उद्धेश्य भनेको उत्पादन भएको बायोग्यास बेचेर आयआर्जन गर्ने भएकाले इमरजेन्सी अवस्थामा कहिलेकाही छोटो समयका लागि बालेर नष्ट गरेपनि ६महिनासम्म हरेक दिनको उत्पादन नष्ट गर्नु उपयुक्त नहुने सरोकारवाला बताउँछन् । कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उद्धेश्यले कम्पनी स्थापना गरेका हुन् । १७ करोड ५० लाखमा तीन वर्षभित्रमा निर्माण कार्य सम्पन्न गरी बायोग्यास संचालन गर्ने लक्ष्यका साथ पाँच वर्षअघि डीपीआर तयार गरी काम सुरु गरेको कम्पनीमा हाल २२ करोड रुपैयाँ खर्च भइसकेको बताइएको छ ।

निर्माण कार्य सम्पन्न भएपनि प्रारम्भिक चरणमा सम्बन्धित पालिकाहरुबाट फोहोर नआएका कारण उत्पादनले गति लिन नसकेको कनकाई नगरपालिकाका कर्मचारीसमेत रहेका कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद अधिकारी बताउँछन् । हाल बजारीकरणको अवस्थामा पुगेको बायोग्यास कम्पनीले उपभोक्ताको पहिचान गरिरहेको बताइएको छ । पहिलो चरणमा होटल व्यवसायीहरुसँग समन्वय भइरहेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए । कम्पनीमा कुहिने फोहोरबाट बायोग्यासको उत्पादनसँगै जैविक मलसमेत उत्पादन भइरहेको बताउँदै अधिकारीले नकुहिने प्लाष्टिकजन्य फोहोरलाई पेलेर पेवर्स (निर्माण सामग्री)उत्पादन गर्ने योजना रहेको जानकारी दिए ।

बायोग्यास उत्पादनका लागि विश्व बैंकको ४० प्रतिशत साथै स्थानीय पालिकासहित उपभोक्ताबाट ६० प्रतिशत लगानी व्यहोर्ने सहमतिअनुसार योजना अघि बढेको कम्पनीका संचालक समितिका पूर्व अध्यक्ष मिनाल तिम्सिना बताउँछन् ।
विश्व बैंकले पाँच करोड ४६ लाख रुपैयाँ अनुदान दिएको प्लान्टमा हाल ७५० जनाभन्दा बढी उपभोक्ताले १० हजारदेखि एक करोड रुपैयाँसम्म शेयर लगानी गरेको तिम्सिनाले जानकारी दिए । सम्झौताअनुसार पालिकाहरुबाट दैनिक फोहोर आउने हो भने चार हजार घनमिटर कुहिने फोहोरमैला व्यवस्थापन हुन सक्ने क्षमताको डाइजेस्टर तयारी भएको बताइएको छ । डाइजेस्टरमा हाल दैनिक ८ टनसम्म गोबर साथै फोहोरमैला खपत भइरहेको बताइएको छ । जसबाट झोल साथै जैविक मल (ठोस मल) समेत उत्पादन भइरहेको छ ।

स्थानीय पालिकाहरुबाट उत्पादित फोहोर व्यवस्थापन गर्ने उद्देश्यले कनकाई–२ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी बायोग्यास प्लान्ट स्थापना गरेर फोहोरमैलाबाट बायोग्यास उत्पादन शुरु गरिएको हो ।

एलपी ग्यासको तुलनामा बायोग्यास उपभोक्ताका लागि प्रतिसिलिन्डर अत्यन्तै न्यून दररेटमा बिक्री वितरण हुने बताउँदै प्रवन्ध निर्देशक अधिकारीले उत्पादित बायोग्यास एलपी ग्यासको विकल्पसँगै होटल व्यवसाय, औद्योगिक क्षेत्र, अस्पताललगायतका प्रतिष्ठानमा प्रयोग हुने बताए । प्लान्ट सञ्चालनमा आएपछि कुहिने र नकुहिने दुवै प्रकारको फोहोर व्यवस्थापन हुने र २५ वर्षसम्म फोहोर व्यवस्थापनको समस्या समाधान हुने स्थानीय पालिकाका जनप्रतिनिधिहरुको दावी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्