झापा, पुष ६ । खाडी मुलुक दुबईमा अलपत्र परेका श्रीमान् अकबर अन्सारीको उद्दार नभएपछि श्रीमती अफ्रुज खातुनले नगरपालिकामै पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् ।

विदेशमा अलपत्र अन्सारी

भद्रपुर– ८ फूलबारी टोल निवासी खातुनले बिहीबार भद्रपुर नगरपालिका पुगेर आत्मदाहको प्रयास गरेकी हुन् । दुई महिनादेखि दुबईमा बन्दीसरह बसिरहेका श्रीमान् अन्सारीको उद्दारका लागि खातुनले धेरैलाई गुहारिसकेकी छन् । तर, अहिलेसम्म उद्धार भएको छैन । बिहीबार बिहान १० बजेतिर नगर प्रमुख गणेश पोखरेललाई भेट्न उनकै कार्यकक्षमा खातुन पुगेकी थिइन्। उनले नगर प्रमुख पोखरेलसँग कुराकानी गर्दागर्दै एक्कासी सलभित्र लुकाएर ल्याएको बोतलको पेट्रोल शरीरमा छर्किन् । त्यसपछि सलाई कोर्नै लाग्दा त्यहाँ उपस्थित कर्मचारीहरूले उनलाई बचाएका थिए । जसबाट कुनै अप्रिय घटना हुन भने पाएन।

त्यसपछि नगर प्रमुख पोखरेलले उनी र उनका परिवारका सदस्यलाई संझाइबुझाई घर पठाएका थिए । नगर प्रमुख पोखरेलका अनुसार केही दिनअघि मात्र अन्सारीकी श्रीमती खातुनलाई भेटेर उनकै मोबाइल फोनबाट दुबईमा रहेका अन्सारीसँग कुराकानी भएको थियो । ‘गफगाफको क्रममा अन्सारीलाई नआत्तिनुहोस्,हामी तपाईंको सकुशल उद्दारका लागि पहल गरिरहेका छौं भनी जानकारी गराएको थिएँ,’ नगर प्रमुख पोखरेलले भने ।

तर,अन्सारीसँगै अलपत्र अन्य पाँचजनाको उद्दार भएको र अन्सारी एक्लै त्यहाँ रहेको जानकारी घरमा आएपछि अत्तालिएर खातुनले आत्मदाहको प्रयास गर्न खोजेको पोखरेलले बताए । अन्सारीको उद्दारका लागि संघीय सांसद विश्वप्रकाश शर्मा समेत लागिपरेको बताउँदै उनले भने,‘मन्त्रालयमार्फत दुबईको राजदूतावाससँग कुराकानी भइरहेको छ,छ्ट्टिै अन्सारीको त्यहाँबाट सकुशल उद्धार गरिन्छ ।’

भद्रपुरमा आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेका ३९ वर्षीय अन्सारी आर्थिक समस्याका कारण काठमाडौं धुम्वाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालि म्यानपावरबाट गत असोज २८ गते दुबई गएका थिए। सागर म्यानपावरले फ्री भिसा, फ्री टिकटको नाममा अन्सारीसँग १ लाख ७५ हजार रुपैयाँ लिएको थियो ।

म्यानपावरले उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कार्पेन्टरको काम ११२० दिराम (करिब ४० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने शर्तमा पठाएको थियो । तर,दुबई जेबेलअली पुगेपछि उनको काम फरक प¥यो । फिनिसिङ कार्पेन्टर पठाएका उनीहरूलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले त्यहाँ बेल्चा हान्न लगायो ।

लेबरको काम गर्दा उनी ९ दिनमै बिरामी परे । त्यसपछि उनकी श्रीमती खातुन उद्धारका लागि सबैसमक्ष हारगुहार गर्न थालिन् । म्यानपावरले अन्सारीको उद्दारका लागि हवाई भाडा माग्न थालेपछि उनका परिवार झन् समस्या परेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्