बिर्तामोड, पुष ९ । नेपाल पत्रकार महासंघ झापाले तीनजना संस्थापकहरुलाई सम्मान गरेको छ ।

महासंघ झापा शाखाको ३५औं स्थापना दिवसका अवसरमा शाखाका संस्थापक समितिका सचिव तथा पूर्व अध्यक्ष तारा बराल, संस्थापक समितिका सदस्य तथा पूर्व अध्यक्ष गोविन्द चन्द क्षेत्री र संस्थापक कार्यसमिति सदस्य मोहन ढुङ्गानालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । ढुङ्गानाको सम्मान उनका छोरा पूर्व पत्रकार देवेन्द्रकिशोर ढुङ्गानाले ग्रहण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले स्थापना दिवस उद्घाटन गरेकी थिइन् । सोही अवसरमा विभिन्न दाताहरूले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सबैले सामूहिक रुपमा दीप प्रज्ज्वलन गरी महासंघको ३५औं स्थापना दिवसको उत्सव मनाएका थिए ।

कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवम् मुलुकमा परिवर्तनका लागि पत्रकार महासंघ झापाले निर्वाह गरेको भूमिकाको चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताले नेपाली पत्रकारिताको इतिहासमा झापाली पत्रकारिताको स्थान र गरिमा उच्च रहेको भन्दै पत्रकारहरूको छाता संस्था महासंघलाई कमजोर बनाउने खेल कतैबाट हुन नहुने कुरामा जोड दिए ।
प्रमुख अतिथि उपसभामुख राना, पूर्व अध्यक्षहरुको तर्फबाट संस्थापक समितिका सचिव समेत रहेका बराल र सामाजिक संघ–संस्थाका तर्फबाट एकका लागि एक अभियानका सहसंयोजक तथा झापा गोल्डकपमा अध्यक्ष विनोद बस्नेतले शुभकामना व्यक्त गरेका थिए ।

उपाध्यक्ष केशव भट्टराईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष सुशीला संग्रौलाले स्वागत मन्तव्य गरेकी थिइन् भने सचिव डिकेश लामाले कार्यक्रम सञ्चालन गरेका थिए । सम्मानित व्यक्तित्वको सम्मानपत्र कार्यसमिति सदस्य स्वस्तिका आचार्यले वाचन गरेकी थिइन् । पत्रकार सहारा उपचार कोषका लागि उक्त कार्यक्रममा नौ लाख ११ हजार एक सय ११ रुपैयाँ जुटेको छ । छ लाख ३३ हजार एक सय ११ रुपैयाँ नगद तथा चेकबाट प्राप्त भएको हो भने विभिन्न दाताले कोषलाई दुई लाख ७८ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्