बिर्तामोड, पुष १० । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा हिजोदेखि शुरु एक महिने जुत्ता चप्पल महोत्सवमा ग्राहकहरुको संख्या बढ्दै गएको छ ।

हिजो पहिलो दिन नै करिव ७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो दिन आज त्यसको दोब्बर कारोबार हुने देखिएको छ । पहिलो दिनको तुलनामा दोस्रो दिन ग्राहकको संख्या दोब्बर रहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य , फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा महोत्सवका संयोजक नानीराज घिमिरेले बताए ।


‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही हिजोदेखि माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ शुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल राखिएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु– रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको उत्पादन बीएफ डियर हील शुज , लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज , शुभकामना फुटवेयरको फस्टवाक शुज , स्मार्ट शुज इन्डष्ट्रिज प्रालिको स्मार्ट शुज , डी. जे. शुज कम्पनीको डीजे शुज , एक्सन फुटवेयर कम्पनीको टुरिस्ट शुज र रन शुज इन्डष्ट्रिज प्रालिको रन शुज गरी ८ वटा कम्पनीको १५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहेको छ ।मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष तथा रन शुज इन्डष्ट्रिजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्