बिर्तामोड,पुष १० । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उत्पन्न विवाद साम्य भएको छ ।

अस्पताल प्रशासन र मृतकका परिवारबीच सहमतिपश्चात् उत्पन्न विवाद साम्य भएको हो । इलाका प्रहरी कार्यालय अनारमनीमा दुवै पक्षबीच छलफल भएपनि लिखित सहमति भने बाहिर भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने, मृतकका छोराछोरीलाई शिक्षा र भरणपोषण अस्पतालले व्यहोर्नुपर्ने लगायत बुँदामा सहमति भएको जनाइएको छ । क्षतिपूर्तिबापत एकमुष्ट रकम दिने सहमति भएपनि दुवै पक्षले सो कुरा खुलाउन चाहेनन् । प्रहरीका अनुसार १३ लाख रुपैयाँसम्म क्षतिपूर्ति बापतको रकम दिनुपर्ने छलफलमा कुरा उठेको थियो । पीडित परिवारले दुई जना बच्चाको शिक्षा र भरणपोषण अस्पतालले व्यवहोर्नुपर्ने सर्त राखेको थियो । अस्पतालले १३ लाख क्षतिपूर्ति दिएको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदनका आधारमा घटनाका दोषीलाई कारबाही गर्ने सहमति जुटेपछि मृतकको शव बुझेको मृतकका भान्जा भवानीप्रसाद दंगालले जानकारी दिए । अस्पतालको लापरबाहीले पाँचथरको हिलिहाङ गाउँपालिका ३ घर भई हाल बिर्तामोड नगरपालिका–९ स्थित नडियाबारी बस्दै आएकी अन्दाजी ३५ वर्षीया नर्वदा बास्कोटा घिमिरेको मृत्यु भएको थियो । घुँडामुनि सुन्निएर नर्वदालाई सोमबार बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बेलुका साढे ५ बजे मृत्यु भएको थियो ।

मृतकका श्रीमान्, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् । नर्वदाको मृत्युपश्चात् आक्रोशित बनेका मृतकका परिवार र आफन्तजनहरू सोमबार साँझदेखि नै अस्पताल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । उनीहरूले प्रदर्शनमा उत्रिँदा मंगलबार दिनभर अस्पताल परिसर तनावग्रस्त बनेको थियो । आक्रोशित बनेका प्रदर्शनकारीहरूले बाहिरबाट ढुंगामुडा प्रहार गर्दा अस्पतालका सिसाहरू फुटेका थिए । अस्पताल हुने सम्भावित तोडफोडको घटनालाई लक्षित गरी ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसअघि गत साउन २९ गते चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मनमोहन हस्पिटलमा आन्दोलन गरेका थिए । प्रसूति गराउन मनमोहन ल्याइएकी बिर्तामोड– १ की २७ वर्षीया सिर्जना संग्रौलाको मृत्यु भएपछि आफन्तहरूले आन्दोलन गरेका थिए । अस्पताल प्रशासनले क्षतिपूर्तिबापत मृतक परिवारलाई ३५ लाख रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्