झापा, पुष ११ । झापाको बाह्रदशी गाउँपालिकाको १४ औं गाउँ अधिवेशन सम्पन्न भएको छ ।

चकचकीस्थित बाह्रदशी गाउँपालिकाको सभाहलमा भएको अधिवेशनको अध्यक्षता बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईले गरेका थिए । गाउँसभा र नगरसभा संचालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम १४ औं गाउँ अधिवेशन सञ्चालन गरिएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले सचिवको भूमिका निर्वाह गरेको कार्यक्रममा सभाका सदस्य महताव आलमले स्वागत मन्तव्य राखेका थिए । सभामा समसामयिक बिषयमा गाउँसभाका सदस्यहरू युवराज ढकाल, गंगाराम धिताल, बलबहादुर बानियाँ, बिजयप्रकाश अधिकारी, जय तिम्सिना र मिलन संग्रौलाले धारणा राखेका थिए । यस्तै अधिवेशनमा अर्धवार्षिक विषयगत समितिका सदस्यहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । न्यायिक समितिका बिजय अधिकारी, अनुगमन समितिका लक्ष्मीकुमारी निरौला, लेखाका पुण्यप्रसाद ढुङ्गेल, कृषि÷पर्यटन तथा प्राकृतिक स्रोततर्फका बिजयकुमार गणेश, तालिम तथा क्षमता विकासका हेमलाल दाहाल, बिधान समितिका ढुकाकुमारी बिक र सामाजिक विकास समितिका पञ्चानन राजवंशीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा उठेका प्रश्नहरूको जवाफ दिइएको थियो । सामाजिक विकास समितिका गंगाराम धिताल र अन्य सम्पूर्ण बिषयहरूको जवाफ बाह्रदशी गाउँपालिकाका प्रवक्ता टेकबहादुर सिंह राजवंशीले दिएका थिए ।

संशोधन गरिएको सात वटै वडाका बजेटलाई सभामा निर्णयार्थ प्रस्तुत गरी सर्वसम्मतले पारित गरिएको थियो । यस्तै गाउँपालिकाबाट विनियोजित बजेटमा गरिएको संशोधनलाई समेत गाउँपालिकाको गाउँ अधिवेशनले सर्वसम्मतले पारित गरेको छ ।

आर्थिक बर्ष २०७६–७७, ७७–७८, ७८–७९ र ७९–८० मा भएका बेरूजुलाई नियमित गर्ने बिषयमा सभाका सचिव प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले छलफल गराउँदै सर्वसम्मतले पारित गरिएको थियो ।

१४ औ गाउँ अधिवेशनमा यस बर्षका उत्कृष्ट कर्मचारीलाई सम्मान र आगामी बर्ष पुरस्कृत हुने कर्मचारीको नाम प्रस्ताव गरिएको थियो । यस पटक पुरस्कृत हुने कर्मचारीहरूमा सुस्मिता मैनाली, पर्शुराम राजवंशी, खड्गनारायण राजवंशी, शान्ता श्रेष्ठ र शिला कट्वाल रहेका छन् । यस्तै २०८०–८१ मा पुरस्कृत हुने कर्मचारीहरूमा हिमाल सुवेदी, नारायण खरेल, हिमाल रेग्मी र गोमा निरौला चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्