धरमपुर,पुष १२ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने ८० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो स्विटर प्रदान गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ ले चालु आर्थिक वर्ष २०८०–०८१ को वडा सिलिङ बजेटबाट विद्यार्थीलाई न्यानो स्विटर प्रदान गरेको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ३ को भानु माध्यमिक विद्यालयमा अध्ययनरत ४०, शान्ति आधारभूत विद्यालयका २५ र पाथिभरा प्राथमिक विद्यालयका १५ गरी ८० जना विद्यार्थीलाई स्विटर प्रदान गरिएको वडा अध्यक्ष भाष्कर न्यौपानेले बताएका छन् । उनका अनुसार यो कार्यक्रमका लागि वडाले ५० हजार विनियोजन गरेको थियो ।

विद्यालय प्रशासनले अति विपन्न, सीमान्तकृत अल्पसंख्यक दलित, पिछडा, मुस्लिम समुदायका विद्यार्थी र जेहेन्दार विद्यार्थीको नाम सिफारिस गरेपछि वडा कार्यालयले स्विटर प्रदान गरेको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक विजयकुमार चौधरीले बताए । यो कार्यक्रमबाट विद्यार्थीलाई नियमित विद्यालय आउन प्रोत्साहन मिल्ने पनि उनले बताए ।

स्विटर पाएपछि विद्यार्थी र उनीहरुका अभिभावक खुसी भएका छन् । वडा कार्यालयले विद्यालयमै पुगेर स्विटर वितरण गरेको वडा सचिव इन्द्रकला लिङ्देनले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्