दुधे ,पुष १२ । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधि बाल निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थी झरेन्द्र मिश्रले हात पारेका छन्।

नगरका २० वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिस्पर्धी विद्यार्थीलाई पछि पार्दै उनले वक्तृत्वकलाको उपाधि जितेका हुन् । उनी वक्तृत्वकला प्रतियोगितामा ‘हिरो अफ दी शिवसताक्षी’ घोषित भए ।

वडा नम्बर ११ को दुधेस्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रले पुष १० गते वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो। शिवसताक्षी नगरका माध्यमिक तहका विद्यार्थीहरूलाई यो प्रतियोगितामा सहभागी गराइएको आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईंले बताए । उनका अनुसार प्रतियोगिता आयोजक संस्थाकै सवालमा भएको थियो।

‘बालमैत्री बिद्यालय आजको आवश्यकता’ बिषयक बक्तृत्वकला प्रतियोगिताको द्वितीय स्थान लक्ष्मीनारायण माध्यमिक विद्यालयका प्रिया दर्नाल, तृतीय भानु माध्यमिक विद्यालय लालझोडाका श्रीजल पौडेलले पाएका थिए ।
प्रतियोगितामा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयकी छात्रा हिमाली काफ्ले र पशुपति एकाडेमी झिलझिलेका छात्र संयोग घिमिरेले सान्त्वना पुरस्कार पाए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ६ हजार, ४ हजार र ३ हजार पाएका थिए भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीले नगद १५०० प्राप्त गरेका थिए। विजेता सबैले प्रमाणपत्र पनि पाएको आयोजक संस्था सतासीधाम सामुदायिक अध्ययन केन्द्रले जनाएको छ।

अध्ययन केन्द्रका अध्यक्ष नारायण बजगाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिका शिक्षा शाखाका सरोज अधिकारीले वक्तृत्वकला प्रतियोगितामा सहभागीहरुको प्रस्तुतिको समीक्षा गर्दै विद्यार्थीहरूलाई यस्ता प्रतियोगितामा सहभागी गराई उनीहरूको शारीरिक, मानसिक र शैक्षिक विकास गर्न सकिने बताए ।
नैना दाहालले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक कालीप्रसाद रिजाल, सतासीधाम मन्दिर विकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बाले बालमैत्री विद्यालय आजको आवश्यकता शीर्षकमा विद्यार्थीले दिएको अभिव्यक्ति र प्रस्तुति हेरेर आफूहरू आश्चर्यचकित भएको बताए ।
उनीहरूको प्रस्तुति कुनै राजनीतिक दलका नेताको भन्दा कम र विचार खासै फरक नपाइएको पूर्व प्रधानाध्यापक रिजालले बताए ।

कार्यक्रमको संचालन यादवप्रसाद घिमिरेले गरेका थिए भने निर्णायकको भूमिकामा गोबिन्द काफ्ले , बालकुमारी अधिकारी न्यौपाने र नारद दवाडीको टीम रहेको सतासीधाम सामुदायिक अध्ययन केन्द्रले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्