झापा,पुष २१ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना (एचआइसिडिपी) अन्तर्गत भारतले नेपाललाई २० करोड दिने सम्झौता रद्द नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ।

युवासंघका महासचिव सुमन पुरीले विज्ञप्ती जारी गरेर उक्त सम्झौता नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विरूद्ध रहेको बताउँदै तत्काल रद्द गरेर जनतासँग माफी माग्न सरकारलाई चेतावनी दिएका हुन्।

‘उक्त सम्झौता रद्ध तथा सरकारले जनातासामु माफी नमागे राष्ट्रिय युवा संघ नेपालले देशभर आन्दोलनको आँधीवेरी सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

युवा संघले भारतलेमात्र नभई विश्वका जुनसकै मुलुकहरुले सरकारी स्वीकृति लिई नेपालको हितमा रही लगानी गर्न सक्ने अवस्था हुनुपर्ने बताएको छ।

तर, भारतसँगको उक्त सम्झौताले नेपालको स्वतन्त्रताको साथ साथै आर्थिक सम्पन्नतालाई समेत गम्भीर असर पार्ने र वैदेशीक लगानी नेपाल भित्रयाउने सवालमा गम्भीर समस्या खडा गर्ने युवासंघको दाबी छ।

‘यसले गर्दा नेपालमा अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, व्यवहार र हस्तक्षेपलाई निम्त्याउनेछ । आन्तरिक मामिलामा बाह्य हस्तक्षेपले प्रवेश पाउने निश्चित देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्