झापा,पुष २२ । सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाएको छ। बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको हो। जसअनुसार नेपाली कांग्रेस १०,नेकपा माओवादी केन्द्रले ६,नेकपा एकीकृत समाजवादी पार्टी २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन्। बैठकपछि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटमा टुंगो लागेको बताए।

लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र केहि स्थानका लागि पनि छिटै टुंगो लाग्ने बताए। सिट बाँडफाँटमा सहमति भएसँगै दलहरुले आन्तरिक छलफल गरेर उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरेका छन् ।
स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूलाई तीन सिट दिनु पर्ने अडान राखेका थिए। तर उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाले दुई सिट मात्रै दिन सकिने बताउँदै आएका थिए।

आजको बैठकमा समेत सत्ता गठबन्धनका अन्य नेताहरूले एकीकृत समाजवादीलाई दुई सिटमा चित्त बुझाउन आग्रह गरेको स्रोतले बताएको छ। कांग्रेस नेता लेखकले सहमति भएको बताए पनि एकीकृत समाजवादीका नेताहरूले भने अझै सहमति जुट्न नसकेको बताएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्