झापा,पुष २२ । प्रमुख प्रतिपक्षी दलको बहिष्कारका बीच बंगलादेशमा आज संसदीय निर्वाचन भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको न्यून उपस्थिति रहेको केही बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । सिल्हेट–६ संसदीय निर्वाचन क्षेत्रअन्तर्गतको पञ्चखण्ड हरगोविन्द स्कुलमा जम्मा २ हजार ५ सय ५ मतदाता रहेकोमा १२ बजेसम्म ३ सय ६९ जनाले मात्र मत हालेका छन् । त्यस्तै अन्य केन्द्रहरूमा पनि मतदान सुरु भएको ४ घण्टा बित्दा १४ प्रतिशत जति मात्र मत खसेको छ । मतदान ५ बजेसम्म चल्नेछ । प्रमुख प्रतिपक्षी सहभागी नभएको चुनावमा पुनः वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले नै जित्ने सहज आकलन गरिएको छ ।
बंगलादेशी जातीय संसद्मा ३५० सांसद हुन्छन् । बाँकी ५० सिट भने महिलाका लागि आरक्षण छुट्याइएको छ । चुनावको नतिजा भने सोमबार बिहानदेखि नै आउने अपेक्षा गरिएको छ । बंगलादेशमा झन्डै १२ करोड मतदाता रहेका छन् । चुनावका लागि ४२ हजारभन्दा बढी मतदान केन्द्र तोकिएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । अवामी लिगसहित विभिन्न २७ पार्टी चुनावमा सहभागी छन् ।

राजनीतिक दलबाट १५ सयभन्दा बढी उम्मेदवार छन् भने स्वतन्त्र रूपमा ४ सय ३६ जनाले उम्मेदवारी दिएका छन् । बंगलादेश नेसनल पार्टी(बीएनपी)सहितका १२ दलले चुनाव बहिष्कार गरेका छन् । सन् २०१४ को चुनाव बीएनपीले बहिष्कार गरेको थियो । सन् २०१८ मा बीएनपी चुनावमा सहभागी भए पनि धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेको थियो । २०१८ मा ३९ दल चुनावमा सहभागी थिए । ३५० सदस्यीय जातीय संसद्मा अवामी लिगकै ३०६ सांसद छन् । प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको जातीय पार्टीको २७ र जनो फोरमका २ जना सांसद छन् ।

आइतबार पनि सरकारविरोधी दलहरूले प्रदर्शन गरिरहेका छन् । बीएनपीको नेतृत्वमा शनिबारदेखि बंगलादेशव्यापी हडताल आह्वान भएको छ । शुक्रबार रातिदेखि नै विभिन्न मतदात केन्द्रमा विस्फोट र आगजनीका घटनासमेत भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । मतदान केन्द्रमा मतदाताको उपस्थिति बढाउन भन्दै अवामी लिगले कैयौँ ’डमी’ उम्मेदवारसमेत उठाएको छ । चुनावअघि हसिना सरकारले प्रतिपक्ष दलका हजारौं कार्यकर्ता पक्राउ गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्