बिर्तामोड, पुष २२ । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

महोत्सव आयोजकले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको नेपाली जुत्ता उद्योगी समूहका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ माघ ९ गतेसम्म सञ्चालन हुने ‘प्रथम बिर्तामोड जुत्ता–चप्पल व्यापार महोत्सव २०८०’ मा हालसम्म ६० हजार दर्शकले अवलोकन गरेका छन् ।
महोत्सव अवधिभर करिब डेढ लाख दर्शकलाई अवलोकन गराउनुका साथै तीन करोड रुपैयाँको करोबार हुने लक्ष्य राखिएको छ ।
बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा १५ भन्दा बढी ब्रान्डका जुत्ता–चप्पल राखिएको छ । तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता–चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सुज, बिएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डिजे सुज, टुरिस्ट सुज र रन सुज गरी आठवटा कम्पनीका ब्रान्डहरुको सहभागिता रहेको छ ।महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जनाइएको छ । महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्