झापा,पुष २४ । कोशी प्रदेशको सभामुखमा प्रमुख प्रतिपक्ष दल एमालेले उम्मेदवारी नदिने निर्णय गरेको छ।

मंगलबार बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्टलाई समर्थन गर्दै आफूले उम्मेदवारी नदिने निर्णय गरेको हो।

प्रमुख सचेतक रेवतीरमण भण्डारीले गठबन्धन बाहिरको उम्मेदवार भएकोले विष्टलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए। यससँगै राप्रपा प्रदेशसभा सदस्य विष्ट सभामुखमा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। कोशीको सभामुख चयनका लागि मंगलबार दिउँसो ३ बजेलाई निर्वाचन समय तोकिएको छ।

सभामुखका लागि सत्ता गठबन्धले विष्टलाई अघि सार्ने निर्णय गरेको थियो। विष्ट गत निर्वाचनमा झापाबाट समानुपातिकतर्फ राप्रपाबाट प्रदेशसभामा निर्वाचित भएका थिए। सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जसपाले यसअघि नै विष्टलाई समर्थन गर्ने सहमति गरेका थिए। विष्टले सत्तारुढ गठबन्धनका ४७ र राप्रपाको ६ सांसदको समर्थन पाएका थिए।
एमालेले पनि उनलाई नै समर्थन गर्ने निर्णय गरेपछि सभामुखमा सर्वसम्मत निर्वाचित हुन लागेका हुन्। यस अगाडि एमालेको तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार हुँदा राप्रपाले पटक–पटक एमालेलाई समर्थन गर्दै आएको थियो। आजै अपरान्ह ४ बजे सभामुखको शपथ ग्रहण हुने तय भएको छ।

गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त छ। गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्