झापा,पुष २४ । कानुनविपरीत विद्यार्थीसँग शुल्क उठाएको र परीक्षा शुल्क नबुझाएको आरोपमा परीक्षाबाट बञ्चित गराएको घटनाको विराटनगर महानगरपालिकाले छानविन सुरु गरेको छ । विराटनगर–९ स्थित सरस्वती माध्यमिक विद्यालयले परीक्षा शुल्क नबुझाएको निहुँमा १५० जना भन्दा बढी विद्यार्थीलाई परीक्षामा भाग लिनबाट बञ्चितगरे पछि महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालयको निरीक्षण गरेर विद्यालयसँग स्पष्टीकरण सोधेको छ ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईको नेतृत्वको टोलीले सरस्वती माध्यमिक विद्यालयमा निरीक्षणा गरेको थियो । त्यस क्रममा परीक्षा दिनबाट बन्चित भएका विद्यार्थी, विद्यालयका प्रधानध्यापक र शिक्षकहरुसँग कुराकानी गरेको शिक्षा महाशाखा प्रमुख भट्टराईले बताए । ‘विद्यालयले आन्तरिक रुपमा लिएको तेस्रो दिनको परीक्षामा केही विद्यार्थी परीक्षा दिनबाट बन्चित भएको पाइएको निरीक्षणको क्रममा देखियो,’ माहाशाखा प्रमुख भट्टराईले भने, ‘परीक्षा दिनबाट बन्चित भएका विद्यार्थीहरुलाई नियमित परीक्षामा सामेल गराएका छौं ।’ तेस्रो दिनको परीक्षा दिनबाट बन्चित भएको विद्यार्थीहरुलाई पनि अन्तिम दिनमा परीक्षा लिन विद्यालयलाई निर्देशन दिएको उनले बताए ।

निरीक्षणपछि विद्यालयलाई के कति कारणले विद्यार्थीलाई परीक्षाबाट बन्चित गराएको र कुन–कुन शिर्षकमा अभिभावकबाट शुल्क लिएको त्यस विषयमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न पनि महानगरपालिको पत्रचार गरेको छ । ‘के कति कारणबाट कतिजना विद्यार्थी परीक्षा दिन बन्चित भएका हुन् ? विद्यालयले कुन कुन शिर्षक र कानुनी आधारमा विद्यार्थी÷अभिभावकसँग शुल्क वा सहयोग रकम लिने गरेको छ ? सो सम्बन्धमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न जानकारी गराइन्छ । कुनै पनि कारणबाट विद्यार्थीलाई विद्यालयले लिने परीक्षाबाट बञ्चित नगराउनसमेत निर्देशन दिइन्छ,’ महानगरपालिकाले गरेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्