दुर्गापुर, पुष २४ । रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कनकाई १ स्थित पशुपति आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई जाडोको लुगा वितरण गरेको छ ।

प्रतिष्ठानका पदाधिकारीहरु मंगलवार विद्यालयमै पुगेर विद्यालयमा अध्ययनरत ५० जना बालबालिकालाई स्वीटर तथा जुत्ता मोजा वितरण गरेका हुन् । जाडोमा लगाउने लुगा नहुँदा बालबालिकालाई समस्या भएको मध्यनजर गरी प्रतिष्ठानले लुगा वितरण गरेको जनाएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली प्रकाश पारेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख शिवाकोटीले प्रतिष्ठानले गरेको कार्यको प्रशंसा गर्दै नगरपालिकाले पनि उक्त विद्यालयका लागि कार्यबिधि बनाएर सहयोग गर्ने आश्वासन दिएकी छन् । नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीले विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीलाई सवैले सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेम कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

विद्यालय भवनमा बर्षातको समयमा टिन पुरानो भएर चुहिने गरेको प्रअ कार्कीले जानकारी दिए । उनका अनुसार अति विपन्न विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा स्थानीय सरकारले छात्रवृत्तिवापत दिएको २२ हजार रुपैयाँमा विद्यालयले १० हजार रुपैयाँ थपेर विद्यार्थीका लागि पोशाक खरिद गरेर वितरण गरिएको छ ।

कक्षा नर्सरीदेखि ५ सम्म अध्यापन हुने सो विद्यालयमा ८३ जना विद्यार्थी छन् भने बालशिक्षक, शिक्षक तथा कर्मचारी गरी ६ जना रहेको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पोखरेलले जानकारी दिए । कार्यक्रममा कनकाई–१ की वडा सदस्य निर्मला खड्का, विद्यालयका पूर्व प्रअ गोबिन्द चौहान, पीटीए संयोजक धनबहादुर मिजार, प्रतिष्ठानका सचिव नारायण ओली, कोषाध्यक्ष यज्ञराज गोपाल ओली, सदस्य अनिरुद्र ओली, उर्मिला ओली, ओली वंशका विनिता ओलीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तरुण अधिकारीले गरेका थिए ।प्रतिष्ठानले यसअघि पनि झापाका बिभिन्न विद्यालयहरुमा कपडा, स्टेशनरीलगायतका सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्