बिर्तामोड, पुष २६। बिर्तामोड– ३ अनारमनीस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले ६६ औं वार्षिकोत्सवका अवसरमा दुई दर्जनलाई सम्मान गरेको छ ।

उत्कृष्ट शिक्षक , दीर्घसेवी शिक्षक , पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष र भूतपूर्व विद्यार्थीलाई विद्यालयले सम्मान गरेको हो । उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनेहरुमा बालविकासतर्फ छत्रकुमारी कार्की , प्राथमिक तहतर्फ गीतादेवी भट्टराई र डिल्लीराज निरौला , निम्न माध्यमिक तहतर्फ रामचन्द्र सिटौला र माध्यमिक तहतर्फ इन्दिरा वस्ती रहेका छन् । त्यस्तै दीर्घसेवा सम्मानबाट ६ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल , पुष्प पौडेल , तुलसा सिटौला , विजय उप्रेती , नेत्र खरेल र चन्द्र प्रसाई रहेका छन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा लोकबन्धु कन्दङ्वा , निरा प्रधान , ठगबहादुर खड्का , रामनारायण चौधरी रहेका छन् ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु स्व. लक्ष्मण खड्का र स्व. पर्शुराम शिवाकोटीलाई मरणोपरान्त सम्मान गरिएको छ । त्यस्तै पूर्व प्रधानाध्यापकहरु देवेन्द्रकुमार गौतम , मोहनप्रसाद ओली र मनबहादुर पाहिम र तथा अवकाश प्राप्त शिक्षकहरु दिलकुमार मुखिया , विजय ओली , कृष्णप्रसाद तिम्सिना र रविन शर्मालाई पनि सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, विशिष्ट अतिथि प्रदेशका पूर्वमन्त्री तथा सांसद भक्तिप्रसाद सिटौला ,कार्यक्रमका अध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद सेढाईलगायतले दोसल्ला ,सम्मानपत्र र फूलमालाले सम्मान गरेका थिए ।

सोही अवसरमा १० लाखको स्व. सुरेश पाठक स्मृति अक्षय कोषको घोषणा गरिएको छ । स्व. सुरेश पाठकको संझनामा उनको परिवारका तर्फबाट कुलभूषण पाठक र सीता पाठकले सो अक्षयकोषको घोषणा गरेका हुन् । विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की , विशिष्ट अतिथि पूर्वमन्त्री सिटौला , बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा विकास समन्वय इकाई झापाका प्रमुख राजकुमार वि.क.,सम्मानित व्यक्तित्व लोकबन्धु कन्दङ्वालगायतले मन्तव्य राखेका थिए । सहायक प्रधानाध्यापक केशव प्रसाईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षकहरु तुलसी खरेल र भोजराज दाहालले गरेका थिए

वार्षिकोत्सवकै अवसरमा नगरस्तरीय महेन्द्ररत्न ताराको सिजन २ का विजेताहरुलाई पुरस्कृत गरिएको छ । बुधवार सम्पन्न त्यस गायन प्रतियोगितामा देवी माविका अभिशेख कटुवाल प्रथम , सांगवेद माविका अमित अधिकारी दोस्रो र मोहनमाया माविका विशेषता अधिकारी तेस्रो भएका थिए । उनीहरुलाई क्रमशः ५ हजार , ३ हजार र २ हजार नगद प्रदान गरिएको छ । त्यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि हेर्दा यसको शुरुवात २०१४ सालमा शारदा प्राथमिक स्कुलको रूपमा स्व.भूपालमान सिंह कार्कीबाट स्थापना भई सञ्चालन भएको पाइन्छ ।

समाजवादी चिन्तक भरतबाबु (सि.के.प्रसाई ) जसले यस विद्यालयको भवन निर्माण गरी महेन्द्ररत्न मल्टि पर्पस मिडिल स्कुललाई जीवन्त शैक्षिक संस्थाका रूपमा स्थापित गरेका थिए । हाल विद्यालयमा विद्यार्थी संख्या १९४४ जना रहेको छ भने शिक्षकहरुमा मा.वि.१२ , विहानीसत्र ३६ , आधारभूत ३६ , पूर्व प्राथमिक ९, नगरपालिकाको स्रोत २, निजी स्रोत ३, प्रदेश सरकार १ गरी जम्मा ९९ जना रहेका छन् ।त्यस्तै कर्मचारी नर्स १, आया २, सरसफाई २, बस चालक २, लेखा तथा पुस्तकालय ५,सुरक्षागार्ड २ सहित शिक्षक तथा कर्मचारी गरी जम्मा ११३ जना रहेको प्रअ खरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्