झापा,माघ ४ । जाजरकोटको जुनीचाँदेमा एक महिनादेखि औषधि अभाव भएता पनि हालसम्म आपूर्ति हुन सकेको छैन ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/01/bhukampa-pidit-photo.jpg)
जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनिषा रावत भूकम्पपछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्कन बाध्य भएका छन् ।
त्यहाँ स्वास्थ्य परीक्षण गराए पनि निःशुल्क दिनुपर्ने जीवनजल र सिटामोलसमेत स्वास्थ्य संस्थामा नपाउँदा मनिषा रित्तो हात फर्कन बाध्य भइन् । उनीजस्तै चिसोले धेरैलाई बिरामी पारेको बेला जुनीचाँदे गाउँपालिकामा औषधि अभाव हुँदा स्थानीयलाई निकै समस्या परिरहेको छ । लामो समय बितिसक्दा पनि औषधिको आपूर्ति हुन सकेको छैन । स्वास्थ्य संस्थामा जीवनजल र सिटामोलसमेत पाइँदैन ।
भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायतका समस्या लिएर बिरामीहरू स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधि नहुँदा बिरामी रित्तो हात फर्कन बाध्य भएको जुनीचाँदे ५ का कुलराज शाहीले बताए ।
चिसोले गर्दा पखाला, ज्वरो, टाइफाइड, निमोनिया, दमलगायतका बिरामीको सङ्ख्या बढिरहेको छ तर औषधि छैन । जुनीचाँदेका ११ ओटै स्वास्थ्य संस्था ६ महिनादेखि औषधिविहीन छन् । यस आर्थिक वर्षमा औषधि आपूर्ति हुन सकेको छैन । साउन यता पालिकाले औषधि खरिद गरेको छैन भने सङ्घ र प्रदेश सरकारले पनि औषधि पठाएको छैन ।
औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयंले बताउन थालेका छन् । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकी लगायतको श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको भए पनि औषधि नहुँदा उपचार गर्न समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले बताए।