झापा,माघ ४ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सकिने बताएका छन्।

बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार ७ सय मेगावाट बिजुली उत्पादन गर्न सकिने दावी गरेका हुन्।
उनले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्नसक्ने बताएका हुन्। उनले भने,’हामी उत्पादन गर्नसक्छौं। ११२ वर्षको इतिहासबाट हिसाव गर्दा र त्यहाँ प्लस माइनस गुणा गर्दा हिसाव नमिल्न सक्छ। तर पछिल्लो एक दशक र १६ महिनाको अवधिमा एक हजारभन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको छ। यो हिसाबले हेर्दा आगामी १२ वर्षमा २८ हजारभन्दा बढी विद्युत उत्पादन गर्नसक्छौं।’

मन्त्री बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुसार अगाडि बढिरहेको बताए। उनले सो बिजुली कसरी व्यवस्थापना गर्ने भन्नेबारे पनि सम्बोधन भइसकेको दावी गरे।
मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके ऊर्जा क्षेत्रका समस्या समाधान गर्न सकिने बताए। मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको लागि एउटा विशेष र महत्वपूर्ण अवसर रहने विश्वास व्यक्त गरे।

उनले लगानीकर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार लागिपरेको जिकिर गरे। जलवायु परिवर्तनको असरका कारण बिजुली उत्पादनमा पनि असर पारिरहेको उनको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्