झापा, माघ ५ । विकास निर्माणमा तीब्रताका साथ अघि बढिरहेको हल्दिवारी गाउँपालिकाको सबै वडा कार्यालयहरुको आफ्नै भवन भएको छ ।

सेवाग्राहीहरुलाई सहज रुपमा सेवा प्रदान गर्न गाउँपालिकाले पाँच वटै वडा कार्यालयहरुलाई आ–आफ्नै भवन निर्माण गरिदिएको हो । वडा नं १ देखि ४ सम्मका वडा कार्यालयहरु आ–आफ्नै भवनमा सरिसकेको अबस्थामा ५ नं वडा कार्यालय पनि आजदेखि आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ ।

दाताहरुले दिएको ६ कठ्ठा जग्गामा ५४ लाख ७० हजार रुपैयाँको लागतमा ५ नं वडा कार्यालय भवन बनेको हो । २ वर्ष ७ महिनामा निर्माण सम्पन्न भएको भवन अपाङ्ग तथा बालमैत्री रहेको छ। सो भवनको उद्घाटन गर्दै निवर्तमान उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारीका सबै वडाको आफ्नै भवन भएकोमा खुसी व्यक्त गरे ।केन्द्रबाट न्यून बजेट विनियोजन भएपनि कार्यसम्पादनमा हल्दिबारीका जनप्रतिनिधि तथा कर्मचारीहरू अघि रहेको भन्दै निरन्तरता दिन सबैलाई आग्रह गरे।


हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको सभापतित्वमा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ( महेन्द्र),४ वटै वडाका वडा अध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापालगायतको विशेष आतिथ्यता रहेको थियो । भवन उद्घाटनका अवसरमा जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।

भवन निर्माणका लागि १ कठ्ठा जग्गा दिने हल्दिवारीका दिलकुमार नेम्वाङ, एकराज राना मगर, बाह्रदशीका रामप्रसाद दुलाल,४ कठ्ठा १० धुर उपलब्ध गराउने हल्दिवारी ४ का वडाध्यक्ष सन्तकुमार थापा, हल्दिवारी ४ कै लाखध्वज कन्दङ्वा , बिर्तामोडका मुकेश विन्दल र सन्तोषीदेवी अग्रवाल र १० धुर जग्गा उपलब्ध गराउने हल्दिवारी ५ की डम्बरकुमारी राईलाई कदरपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो।

यसैगरी वडा नं ५ का पूर्व जनप्रतिनिधिहरू शेरबहादुर नेम्वाङ, नन्दलाल पराजुली,मदन तामाङ, तारादेवी ढकाल र भिममाया दर्जीलाई पनि सम्मान गरिएको थियो। उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, ,२ नं वडाका वडाध्यक्ष शुकलाल राजवंशी ,जग्गादाताका तर्फबाट दिलकुमार नेम्वाङलगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन हल्दिबारी गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए। कार्यक्रममा जनप्रतिनिधिहरू ,नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, नेकपा माओवादी केन्द्रकी टिका राउत, नेपाली काँग्रेसका सभापति गंगा प्रसाई, जग्गादाताहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य वडा नं ५ का वडा अध्यक्ष खडग लावतीले गरेका थिए भने भवनको लागतका बारेमा विस्तृत जानकारी प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले दिएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्