झापा,माघ १४ । राष्ट्रियसभा निर्वाचनको मत परिणामले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीले आइतबार सहकर्मी दलहरूसँग छलफल गरेर सोमबारसम्ममा ३ जना फूल मन्त्री र एक राज्यमन्त्री नियुक्तिको तयारी गरेका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार कांग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी केन्द्रबाट भने एक जना मात्रै मन्त्री बन्ने परिस्थितिमा उदयपुरका नारायण बुर्जा मगर र दुई मन्त्री बन्दा सङ्खुवासभाको राजेन्द्र कार्की थप नियुक्त हुने माओवादी स्रोतले बतायो ।

मुख्यमन्त्री कार्कीले माओवादीबाट तत्कालका लागि एक जना मात्रै मन्त्री थप गर्ने तयारी गरेका छन् । तर, माओवादीले दुई मन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ । माओवादीलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय दिने सहमति भइसकेको छ । यस्तै माओवादीलाई दिनै पर्ने अवस्थामा सामाजिक विकास मन्त्रालय थप हुने मुख्यमन्त्री स्रोत बताउँछ । यस्तै काँग्रेसले अब उद्योग, कृषि तथा सहकारी, आर्थिक मामिला तथा योजना लिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय जसपालाई दिन मुख्यमन्त्री तयार भए पनि जसपाले भने तत्काल सरकारमा नजाने बताउँदै आएको छ ।

त्यस्तो परिस्थितिमा कांग्रेसले रामकुमार खत्रीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने र प्रदीपकुमार सुनुवारलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी मुख्यमन्त्रीको छ । थापालाई भने तत्कालका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री बनाउने कार्कीको तयारी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्