माघ १८ गते । नेपाली चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै अभिनेता दयाहाङ राईले विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र बनेको बताए । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्नसक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ ।

आफूलाई मर्दको रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्विकार्न सक्दैन । बरु ऊ अर्को विवाह गर्न तयार छ । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनुपर्छ भन्ने कथावस्तु यसमा चित्रण छ ।

उनले चलचित्रमा सन्तान नभएको बेलामा श्रीमान् श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई देखाइएको बताए । त्यस्तै अभिनेत्री दिया पुनले फिल्ममा सन्तान नभएपछिको पीडालाई देखाइएको बताइन् । त्यस्तै विजय बरालले चलचित्रमा आफूले गरेको अभिनयबाट दर्शकले रुचाइरहेको र आगामी दिनमा पनि सोही माया र साथ दिन आग्रह गरे ।

चलचित्रमा दम्पतीबिच सन्तानको चाहना र यसले सम्बन्धमा ल्याउने उतारचढावको कथा छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । दिया पुन, दयाहाङ राई, विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर लगायतको अभिनय छ सातभन्दा बढी गुरुङ फिल्म निर्देशन गरेका माओत्सेले यो फिल्मबाट नेपाली भाषाको फिल्ममा डेब्यु गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्