झापा,माघ २३ । कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घ्यू तथा धूलो दुध निर्यातमा प्रोत्साहन अनुदान दिने न्यूनतम मापदण्ड तयार गरेको छ । प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबद्र्धन अनुदान (दोस्रो संशोधन) मापदण्ड २०८० लागू गरेको हो ।

मापदण्ड अनुसार नौनीलाई प्रतिकिलो ९० रुपैयाँ, घ्यूमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको छ ।अनुदान पाउनका लागि निर्यातकर्ताले पालना गर्नुपर्ने ८ वटा न्यूनतम प्राविधिक मापदण्ड पुरा गर्नुपर्ने छ । मन्त्रालयले भने अनुदान सञ्चालन गर्नका लागि चारवटा प्रक्रिया पनि उल्लेख गरेको छ । कोशी प्रदेशमै उत्पादन गरेको दूध संकलन तथा प्रशोधन गरी उत्पादित नौनी, घ्यू तथा होल मिल्क पाउडर र स्किम मिल्क पाउडर निर्यात गरेको प्रमाण बील बिजकका आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराइनेछ ।

अनुदानको लागि निर्यात गर्दा भन्सार कार्यालयले उपलब्ध गराएको परिमाण खुलेको बिलबिजक तथा प्रतितपत्रको प्रतिलिपी र कस्टम क्लियरेन्स फर्म तथा धुलो दुध उत्पादन गर्ने उद्योगको हकमा दुध संकलन वा दुध खरिद गरेको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ । यस्तै किसान-सहकारीबाट दुध खरिद गरी धूलो दुध उत्पादन उद्योगमा दुध पठाउने डेरी उद्योगको हकमा धुलो दुध उद्योगले प्रमाणित गरेको धुलो दुधको परिणाम खुलेको कागजात पेश गर्नुपर्ने र निर्यातमा प्रोत्साहन अनुदानका लागि कोशी प्रदेशमै उत्पादित दुधबाट बनेका सामाग्रीमात्रै मान्य हुने व्यवस्था छ । अनुदानको लागि बैंकिङ प्रणालीबाट विदेशी मुद्रा आर्जन गरेको हुनुपर्नेछ ।

प्रदेश सरकारले तय गरेको निर्यातमा प्रोत्साहन अनुदान सञ्चालन प्रक्रिया अनुसार सार्वजनिक सूचना पनि आव्हान गरिसकेको छ । उद्योग कृषि तथा सहकारी मन्त्रालयले गत माघ १४ गते एक सूचना प्रकाशित गरी आगामी जेठ मसान्तसम्ममा तोकिएको ढाँचामा निवेदन पेश गर्न आव्हान गरेको हो ।

सूचना अनुसार आएका निवेदकहरुमाथि दुई जना प्राविधिकहरुले स्थलगत अनुगमन तथा पेश भएका कागजातहरुको अध्ययन गरी प्राविधिक मापदण्ड पुरा गरेका निवेदनलाई ऐन बमोजिमको प्रदेशस्तरबाट अनुदान छनोट समितिमा छनोटका लागि सिफारिस गरिनेछ । सिफारिस अनुसार मन्त्रालयले प्रदेशस्तरमा अनुदान छनोट समितिमार्फत अन्तिम छनोट गर्ने जनाएको छ ।

यसरी छनोटका लागि पेश गर्दा प्राविधिक मापदण्ड पुरा गरेका पहिलो निवेदन पेश गर्नेहरुलाई पहिलो प्राथमिकता दिने मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार प्रक्रिया निर्धारण गरिएको छ । प्रदेशमा दुध उत्पादन बढेको र पाउडर दुध र घ्यु निर्यातमा अनुदान दिन उद्योगीले प्रदेश सरकारलाई अनुरोध गरेअनुसार अनुदान कार्यक्रम ल्याइएको कृषि मन्त्रालयका सचिव डा.लेखराज दाहालले बताए । उनका अनुसार यो अनुदान कार्यक्रमले दुधजन्य वस्तु निर्यात गर्नसक्ने डेरी उद्योगहरुलाई प्रोत्साहन मिल्नेछ ।

यसअघि उद्योगीहरुले बंगलादेशका व्यवसायीबाट नेपालमा उत्पादित धुलो दुध र नौनी तथा घ्युको माग भएको बताएका थिए । तर, सरकारले अनुदान नदिए बंगलादेश पठाउँदा आफूहरुलाई घाटा हुने भन्दै दूधजन्य वस्तुको निर्यातमा न्यूनतम अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग डेरी उद्योगहरुले माग गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्