झापा,माघ २४ । झापा क्षेत्र नं ३(क) का प्रदेश सांसद भूमिप्रसाद राजवंशीले आफ्नो राजनीतिक एवं सामाजिक प्रतिष्ठामाथि धब्बा लगाउने दुष्प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बिर्तामोड ५ का श्रीलाल भनिने सुरेन्द्रलाल राजवंशीको जग्गाको विषयमा आफ्नो पनि नाम जोडेर बद्नाम गर्न खोजिएको उनको ठम्याई छ । केही संचारमाध्यमहरुले त्यस जग्गा काण्डमा प्रदेश सांसद राजवंशीको समेत संलग्नता रहेको समाचार प्रकाशित गरेपछि उनले बुधवार प्रेस विज्ञप्ति जारी गरी खण्डन गरेका हुन् ।

उनले विज्ञप्ति जारी गरी भनेका छन्,‘ कोही पनि व्यक्ति सम्बन्धित कार्यालयमा उपस्थित भएर आफ्नो व्यक्तिगत सम्पत्तिको लेनादेना गर्न पाउने उसको नितान्त व्यक्तिगत अधिकार हुँदाहुँदै सोही घटनामा मलाई मुछेर समाचार आउँदा म स्वयं र मेरा शुभचिन्तकहरु अचम्भित भएका छौं । कपोकल्पित र निराधार विषयलाई राज्यको जिम्मेवार चौथो अंगले समाचारका माध्यमबाट फैलाउन खोजेको भ्रम र अपवाहलाई चिर्नै पर्छ भनेर सबैले सुझाव दिएपछि त्यस समाचारको खण्डन गर्न यो प्रेस विज्ञप्ति जारी गरेको छु ।’

उनले त्यो निजी सम्पत्ति किनबेचको विषय जग्गाधनीहरुको निजी एवं पारिवारिक मामिला भएको भन्दै उक्त विषयलाई लिएर समाचारमा आरोप लगाएकोजस्तो आफ्नो संलग्नता हुनु पर्ने कुनै कारण नभएको र जहाँसम्म सम्पत्तिको किनबेच समाचारमा उल्लेख गरेको जस्तो नभई पारिवारिक समझदारी र कानुनी प्रकृयाको अधिनमा रहेर नै गरेको भन्ने आफूले बुझेको स्पष्ट पारेका छन् । अरु कसैको सम्पत्तिमा बिभिन्न मनसायले गिद्धे नजर लगाएर दुःख दिई सर्वसाधारणलाई तर्साएर बिभिन्न आवरणमा लुटको धन्दा चलाउने बिभिन्न आपराधिक क्रियाकलाप समेत समाजमा हुने गरेको उनको ठहर छ ।

‘जग्गाधनी श्रीलाल भनिने सुरेन्द्रलाल राजवंशी साइनोमा मेरा भतिजा पर्नुहुन्छ । जब उहाँको भारतमा दुःखदायी घटना भयो , त्यसबेला मैले सहयोग गरेको थिएँ । प्रहरी प्रशासनलाई घटना अनुसन्धान गर्न सहजीकरण गरेको यथार्थ हो । त्यसबाहेकका अन्य घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ’उनले भनेका छन्,‘यहाँका मूलवासी आदिवासीहरुको अस्तित्व नै सखाप पार्ने षडयन्त्र विगतमा मात्र भएनन्, अहिले अझ खतरनाक बन्दै गएको छ । करोडौंको जायजेथा भएका बिर्तामोडका एकजना राजवंशी परिवारलाई तहसनहस पारेरै छाडे , त्योसंगै त्यही स्वार्थ समूहले मेरो पनि राजनीतिक एवं सामाजिक प्रतिष्ठामाथि धब्बा लगाउने दुष्प्रयास गरेको मेरो बुझाई छ ।’

कुनै पनि र कसैको पनि समाचार प्रकाशन र प्रसारण गर्दा त्यसबाट पर्नसक्ने असरका बारेमा ख्याल गर्न आग्रह गर्दै उनले सम्बन्धित संचारमाध्यमलाई यसै विज्ञप्तिलाई आधार मानेर प्रकाशित गलत समाचारको खण्डन गरिदिन अपिल गरेका छन् । साथै आफ्नोे बारेमा फैलाउन खोजिएको भ्रममा नपर्न आम जनसमुदायलाई आव्हानसमेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्