भद्रपुर, माघ २६ । भद्रपुर ३ सूर्यनगरमा रहेको अरनिको माध्यमिक विद्यालयको ५६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर लिम्बूको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार, विविध साँस्कृतिक कार्यक्रम र दाता सम्मान गरिएको हो ।
कार्यक्रममा वार्षिक गतिविधि प्रस्तुत गर्दै प्रधानाध्यापक पुरूषोत्तम खरेलले दुई दशकयता अलपत्र परेर रहेको अधुरो भवनमा जोखिम मोलेर विद्यार्थीले पढिरहेको जानकारी दिए । प्रअ खरेलले कक्षा १ देखि कक्षा १२ सम्म ३५० विद्यार्थी अध्ययनरत रहेको विद्यालय भवन निर्माण सम्पन्न गराउन स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार सबैसंग हारगुहार गरिरहेको भए पनि सुनुवाई नभएको गुनासो पोखेका थिए ।

कार्यक्रममा भद्रपुरका शिक्षासेवी घनेन्द्र—धरणी शर्माले बेलायतमा रहेका विनोद शर्मा न्यौपानेको समन्वयमा ७० हजार मूल्य बराबरको विज्ञान सामग्री सेभ द चिल्ड्रेन विद्यालयबाट ल्याएर सहयोग गरेका थिए ।
कार्यक्रममा लक्ष्मी—ललिता खरेल छात्रवृत्तिबाट कक्षा ८ र १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने ३ जनालाई जनही ३ हजार ५५५ नगद प्रदान गरिएको थियो भने हंशधर—लक्ष्मीमाया इदिङ्गो लिम्बू छात्रवृत्ति कक्षा १—५, ६—९ र कक्षा १० उत्तीर्ण उत्कृष्ट ४ जना विद्यार्थीलाई जनही ३ हजार ५५५ रूपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, दाता घनेन्द्र शर्मा न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्दै सरकारी विद्यालयमा बिश्वास घट्दै जानुमा राजनीतिक हस्तक्षेप प्रमुख कारण रहेकोले सुधारको आवश्यकता औंल्याएका थिए ।
विद्यालयका शिक्षक शान्तिराम बस्नेतले सञ्चालन गरेको कार्यक्रममा दाता दम्पत्ति घनेन्द्र—धरणी शर्मा न्यौपानेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्