विराटनगर, माघ २८ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन्।


महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि अध्यक्ष पदमा नेपाल निर्वाचित भएका हुन्। विराटनगरमा शनिबार सम्पन्न अधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा मोरङका माधव अधिकारी र उपाध्यक्षद्वयमा उदयपुरका घनश्याम पोखरेल र सुनसरीका शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै सचिवमा मोरङका दिवाकर भट्टराई र कोषाध्यक्षमा मोरङका गौतम शर्मा निर्वाचित भएका छन्। यस्तै सहसचिवमा झापाका टंकप्रसाद भट्टराई निर्वाचित भएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद शिवाकोटीले जानकारी दिए ।
यस्तै सदस्यहरुमा मोरङबाट नवीन रेग्मी, यतिराज पोखरेल, माधव बराल, परमानन्द सिंह, चुडामणि घिमिरे, जीवन लुइटेल र हेमाकुमारी घिमिरे निर्वाचित भएका छन्।

यस्तै सुनसरीबाट प्रदेश सदस्यमा जीवन लुइटेल, अनिल जोशी, मनोजकुमार यादव निर्वाचित भएका छन्। ताप्लेजुङबाट भुमादेवी पोखरेल र धनकुटाबाट युवराज निरौला निर्वाचित भएका छन्।
कार्यक्रम कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले उद्घाटन गरेका थिए। अधिवेशनको उद्घाटन गर्दै उनले कोशी प्रदेश पुस्तक तथा स्टेशनरी व्यवसायीको पक्षमा रहेको बताए । प्रदेश प्रमुख खापुङले व्यवसायीका यावत समस्या प्रदेश सरकारले बुझेको बताए । पुस्तक तथा स्टेशनरी संवाद, छलफल र सहकार्य गरेर व्यवसायीका मर्कालाई प्रदेश सरकारले सम्बोधन गर्ने उनले बताए ।

विद्यालय तहका शैक्षिक सामग्रीको अबैध बिक्री वितरणमा पूर्णतः प्रतिबन्ध लगाउन प्रदेश सरकार तयार रहेको उनले बताए । प्रदेशका कुनै पनि विद्यालयले विद्यालय हातामा शैक्षिक सामग्रीको बिक्री वितरण गरेको पाईए सरकारले नियमन गरि कार्वाही गर्ने पनि उनले बताए ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेस कोइराला, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष मनहरि बस्याल, वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरे, केन्द्रीय महासचिव शिवहरि शर्मा, सचिव विष्णु पौडेल, पूर्व उपाध्यक्ष ऋषिराम शर्मा, मातृका सिवाकोटी र झापाका अध्यक्ष विनोद सापकोटा लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

अधिवेशनको बन्दसत्रमा सचिव माधव अधिकारीले महासंघको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गौतम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रम महासंघका प्रदेश अध्यक्ष रन्जन शर्माको अध्यक्षतामा भएको थियो ।

यसैबीच सो कार्यक्रममा २०२२ सालदेखि नियमित पुस्तक तथा स्टेशनरी व्यवसाय गर्दै आएका झापा गौरीगञ्जका रुपक श्रेष्ठलाई सम्मान गरिएको छ । उनलाई सम्मानपत्रसहित प्रदेश प्रमुख खापुङले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्