झापा,फागुन ३ । विराटनगर भन्सार कार्यालयले बेरुजुको रकम अंक बढ्दै गएपछि फर्छ्यौट अभियान चलाएको छ । अभियान अन्तर्गत पुराना कारोबारका प्रज्ञापनपत्रबाट थप राजस्व असुल भन्सारले असुल गर्न थालेपछि उद्योगी व्यवसायी भने अनावश्यक दुःख पाएको गुनासो गर्न थालेका छन् ।

भन्सार महालेखाले बेरुजु ठहर्याएका पुराना कारोबारबाट राजस्व असुली गरिरहेको छ । त्यस्तै आन्तरिक लेखा परीक्षणबाट बेरुजु देखिएका कारोबारबाट पनि राजस्व असुल गरेको जनाएको छ ।

कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार बेरुजु फर्छ्यौट अभियानबाट ३ करोड ५० लाख रुपैयाँ राजस्व असुली भएको छ । महालेखाको प्रतिवेदनमा कार्यालयले ४५ करोड रुपैयाँ बेरुजु फर्छ्यौट गर्नुपर्ने देखाएको ढकालले जानकारी दिए । यो रकम आर्थिक वर्ष २०६९–७० देखि हालसम्मको हो ।

अहिलेसम्म भन्सार कार्यालयले विभिन्न उद्योग र प्रतिष्ठानका ५११ वटा निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) बन्द गरिदिएको छ । बेरुजु भएका फर्मका एक्जिम कोड बन्द गरि तिनलाई आयात निर्यात कारोबारमा रोक लगाइएको हो ।

विराटनगर भन्सार कार्यालयमा २ हजार ४०० एक्जिम कोड दर्ता छन् । तीमध्ये १ हजार २०० एक्जिम कोडबाट आयात र निर्यात भइरहेको छ । संवैधानिक निकाय महालेखाको प्रतिवेदन कार्यान्वयनमा गर्नैपर्ने भएकोले बेरुजु फर्छ्यौटमा सक्रिय भएको भन्सार प्रमुख ढकालको भनाइ छ । महालेखाले लेखेको बेरुजु सम्बन्धित सरकारी निकायले जुनसुकै समयमा पनि असुलउपर गर्नसक्ने उनको भनाइ छ ।

व्यवसायीहरूले भने ५ वर्षपहिलेका फाइल खोलेर सरकारी निकायले राजस्व असुल गर्न नपाइने जिकिर गरिरहेका छन् । भन्सार प्रमुख ढकाल भने महालेखाले बेरुजु देखाएको रकम सम्बन्धित व्यक्ति, फर्म र औद्योगिक प्रतिष्ठानका सञ्चालकका सन्तानसित पनि असुलउपर हुने दावी गर्छन् ।

भन्सार कार्यालयले बेरुजु फर्छ्यौट गर्न नसके एक्जिम कोडका आधारमा आन्तरिक राजस्व कार्यालयबाट असुल गर्ने जनाएको छ । भन्सार कार्यालयले बेरुजु फर्छ्यौटको अभियान चलाएर व्यवसायीलाई नै सजिलो बनाएको उनले बताए

बेरुजुको रकम व्यवसायीका नाममा सरकारी बाँकी सरह रहिरहेको हुनाले सरकारले खोजेका बेला तिर्नैपर्ने भन्सार कार्यालयको भनाइ छ ।

व्यवसायीले छुट सुविधाको दुरुपयोग, वर्गीकरणमा चलाखी, मूल्यांकनमा चलखेल र भाडा तथा बिमाको रकम कम उल्लेख गरि राजश्व छलेको भेटिएकोमा महालेखाले बेरुजु देखाएको हो । आर्थिक ऐनले कम्प्युटरको २३ इन्च सम्मको मोनिटरमा भन्सार महसुल ५ प्रतिशत छ र २३ इन्चभन्दा बढीमा २० प्रतिशत तोकेको छ । कतिपय आयातकर्ताले २३ इन्चभन्दा बढीका मोनिटरको आयात प्रज्ञापनपत्र २३ इन्चका मोनिटरको भरेर छली गर्ने गरेको भन्सारको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्