झापा, फागुन ४ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा प्रक्रियालाई झन्झटिलो बनाउन नहुने बताएका छन् ।

झन्झटिलो बनाएर बिमितले दुःख पाउँदा बीमा कम्पनीहरुप्रतिको बिश्वास जगाउन नसकिएको उनको भनाई छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रवारदेखि झापाको बिर्तामोडबाट शुरु गरेको बीमा जागरण अभियानलाई शुभारम्भ गर्दै बीमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले अझै पनि धेरै नेपालीहरुलाई बीमाका बारेमा बुझाउन नसकिएको बताए । त्यसका लागि बीमा शिक्षालाई व्यापक बनाउनु पर्ने उनको जोड थियो । सुरक्षा र बचतका लागि बीमा भएको र यसले गरिबलाई गरिब हुनबाट जोगाउने धारणा राखे । बीमाका बारेमा जनचेतना फैलाउनका लागि देशका ३ सय वटा पालिकामा बीमा शिक्षा प्रदान गर्ने प्राधिकरणको योजना रहेको उनले सुनाए ।

प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले कुनै पनि बीमा कम्पनीले दावी भुक्तानी नगरेको खण्डमा अदालतमा उजुरी दिन बिमितहरुलाई आग्रह गरे । उनले अहिलेसम्मको अदालती फैसलालाई हेर्दा ९५ प्रतिशत फैसला बिमितको पक्षमा भएको बताए । उनले बीमा कम्पनीहरुले हुनेखानेलाई मात्र नभएर हुँदाखानेहरुलाई पनि समेट्न आग्रह गरे । ‘बीमाको दायरामा सबैलाई ल्याउनु पर्छ’ उनले भने,‘किनकि बीमा भनेको बचत हो भविष्यको सुरक्षा पनि हो ।’ उनले देशका ७५३ वटै स्थानीय तहमा बीमा जागरण अभियान पुर्याउनुपर्नेमा जोड दिए ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पनि बीमाका बारेमा सबैलाई ज्ञान दिन र सबैलाई समेट्न आग्रह गरे । उनले सहकारीको जस्तो गलत छापबाट बीमा कम्पनीहरुलाई जोगिन सुझाव दिए ।

कार्यक्रममा बोल्दै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख मनोजकुमार लाल कर्णले झापाबाट शुरु भएको जागरण अभियान देशका ७७ वटै जिल्लामा पुर्याउने बताए । उनले निकट भविष्यमा आफ्नो कम्पनीले अनलाइन पोलिसीको व्यवस्था गर्न लागेको जानकारी दिए । उनले देशको अर्थतन्त्रको दश प्रतिशत हिस्सा बीमाले ओगटेको भन्दै बीमाको माध्यमबाट देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर जागरण अभियान संचालन गरिएको बताए ।

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख भूपराज पराजुलीले कम्पनीको गतिविधिबारे जानकारी दिएका थिए । कम्पनीका जोनल हेड नवीन थापाले संचालन गरेको कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ , वडा सदस्यहरु अग्निप्रसाद सिटौला , ओम सेढाईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्