बिर्तामोड, फागुन ५ । पूर्वी नेपालकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित बिर्तामोड– ६ स्थित तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलले अन्तर्राष्ट्रिय स्तरको मन्टेश्वरी संचालन गरेको छ ।

राजधानी बाहिर पहिलो पटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसंग आवद्ध भएर कक्षा १ देखि १० सम्म पठनपाठन गरिरहेको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलले स्वीडेनको लिटल आइन्सटाइन्ससंगको आवद्धतामा मन्टेश्वरीसमेत संचालन गरेको हो । विद्यालयले मन्टेश्वरीमा ५० जना बालबालिकालाई भर्ना गरेको छ । सरस्वती पूजाको अवसरमा भर्ना खुल्ला गरिएको विद्यालयकी कार्यकारी निर्देशक डा. अन्जली कार्कीले बताइन् । विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तक्षशीलाले पूर्वमै पहिलो पटक स्वीडेनी विद्यालयसंग आवद्ध भएर मन्टेश्वरी संचालन गरेको जानकारी दिइन् । प्रत्येक कोठामा सीसी क्यामेरासहित पाँच विद्यार्थी बराबर एक शिक्षिकाको नीति अनुसार मन्टेश्वरीमा पठनपाठन शुरु गरिएको डा. कार्कीले बताइन् ।

त्यस्तै क्याम्ब्रिज विश्वविद्यालयसंग आवद्ध भएर गत वर्षदेखि पठनपाठन शुरु गरेको तक्षशीलाले तोकिएको मापदण्ड पूरा गरिसकेपछि क्याम्ब्रिजबाट अपग्रेड पाएको विद्यालयका निर्देशक प्रमिश गिरीले बताए । उनले मन्टेश्वरी संचालन र क्याम्ब्रिज अपग्रेडका लागि क्याम्ब्रिजका तर्फबाट डा. रोशन राठी , लिटल आइन्सटाइन्सका तर्फबाट डा. बसन्त जोशीले संझौता गरेको जानकारी दिए ।

यसैबीच तक्षशीलामा शनिवार एकदिने शैक्षिक महोत्सव सम्पन्न भएको छ । महोत्सवमा विद्यार्थीहरुले ४० वटा स्टल राखेका थिए । विद्यार्थीहरुले नेपाली मौलिक परिकार ,खानपान, संस्कृति झल्कने, लाइभ म्युजिक, फेस पेन्टिङ, सेल्फी कन्टेष्ट, गेमलगायतका स्टलहरु राखेको निर्देशक गिरीले बताए । विद्यार्थीलाई अध्ययन मात्र नभएर क्षमता विकाससहित ब्यवहारिक शिक्षा दिने उद्धेश्यले महोत्सवको आयोजना गरिएको स्कुलका एकाडेमिक डाइरेक्टर डा. भिक्टर जोसेफले जानकारी दिए । उनका अनुसार पूर्वमै पहिलो पटक तक्षशीलाले त्यस प्रकारको महोत्सव आयोजना गरेको हो ।
एकाडेमिक डाइरेक्टर डा. जोसेफको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रोफेसर प्रा.डा.उमेश शर्माको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि डा. शर्मा, बिशिष्ट अतिथि डा. बसन्त जोशी, डा.अन्जली कार्कीलगायतले कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रममा सञ्चालक इन्दिरा गिरी, बीएण्डसी अस्पतालका डा. निराजन प्रसाईलगायतको आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षिका शक्तिकुमारी तामाङले गरेकी थिइन् ।

त्यसैगरी विद्यार्थीहरुले बिभिन्न नृत्य, गायन, संगीतलगायतका मनोरन्जनात्मक कार्यक्रमहरु समेत गरेका थिए । कार्यक्रम उद्घाटनअघि विद्यार्थीहरुले बिभिन्न भेषभुषामा र्याली गरेका थिए ।महोत्सवलाई विद्यार्थीसंगै अभिभावकहरुले पनि अवलोकन गरेका थिए ।

निर्देशक गिरीले किताबी ज्ञानसंगै विद्यालयले डिजिटल संसारमा सक्षम हुनेगरी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापअन्तर्गत रोबटिङ,ए.आई. , कोडिङजस्ता विषयमा अध्यापन गराइरहेको जानकारी दिए । स्वीमिङ पुल , नयाँ स्मार्ट कक्षा कोठा , लाइब्रेरीलगायतका सुविधा भएको तक्षशीलाले बिर्तामोड नगरपालिकाले तोकेबमोजिमको शुल्क लिइरहेको निर्देशक गिरीले बताए । ‘बजारमा तक्षशीला अत्यधिक महँगो छ भनेर हल्ला गरिन्छ’ उनले भने,‘ बिर्तामोड नगरपालिकाले स्वीकृत गरेको शुल्कमै हामी पढाउँछौ , त्यसबाहेक खानपान र यातायातको अलग्गै शुल्क तोकेका छौं , त्यो बाध्यकारी छैन ।’

तक्षशीलामा ६ सय विद्यार्थी अध्ययनरत छन् । क्याम्ब्रिज विश्वविद्यालयकै प्रमाणपत्रद्वारा विद्यालयका ४ सय विद्यार्थीहरु दीक्षित हुन लागेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्