शिवसताक्षी, फागुन ६ । झापाको शिवसताक्षी नगरपालिकाले दादुरा र रुबेला खोप अभियानका लागि पूर्वतयारी सुरु गरेको छ ।

शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई खोपसम्बन्धी अभिमुखीकरण गरिएको छ ।अभिमुखीकरणमा दादुरा र रुबेलाको गएको वर्ष र चालु वर्षमा संक्रमणको अवस्था र यसको नियन्त्रणका लागि अवलम्वन गर्नु पर्ने उपायहरुका बारेमा जानकारी गराइएको थियो । यही फागुन २० देखि २९ गतेसम्म ९ वर्षदेखि ५ वर्षमुनिका उमेर समूहका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप देशका १५ जिल्ला र ९ वर्षदेखि १५ वर्षमुनिका उमेर समूहका बालबालिकालाई २४ जिल्लामा खोप अभियान सञ्चालन हुने जानकारी गराइएको थियो । अभिमुखीकरणमा स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मी प्रकाश पाठकले कोभिड १९ पछि दादुरा खोप लगाउन छुट्दा अहिले दादुराको संक्रमण झापाका पालिकाहरुमा देखिन थालेको बताए । शिवसताक्षी नगरपालिकामा आ.व. २०७९–८० मा दादुरा र रुवेला खोपको पहिलो मात्रा ९७.९ र दोस्रो मात्रा ९७.९ प्रतिशत प्रभावकारी देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यक्रममा खोप अभियानमा महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरुले खेल्नु पर्ने भूमिकाका विषयमा छलफलसमेत गरिएको थियो ।

अभिमुखीकरणमा शिवसताक्षी नगरपालिकाले नयाँ रणनीति अपनाएर दादुरा र रुवेला उन्मूलनका लागि खोप अभियान सफल बनाउनका लागि सबै तह र तप्कालाई परिचालन गर्ने नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए । हात्तीपाइलेविरुद्धको खोप अभियानमा स्वास्थ्य कार्यालय झापाले शिवसताक्षी नगरपालिकालाई प्रशंसा गरेको र यस पल्टको खोप अभियान पनि प्रभावकारी र प्रशंसनीय हुने गरी काम गर्ने उनको भनाई थियो ।

खोप अभियानका लागि अर्को चरणमा प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने शिवसताक्षी नगरपालिकाका स्वास्थ्य शाखाका संजय ठकुरीले जानकारी दिए।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुमा वडाध्यक्षहरुको न्यून उपस्थिति भएको गुनासो गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, उपप्रमुख नरमाया कार्की,वडाध्यक्ष भवानीविक्रम चेम्जोङलगायतले आ–आफ्ना धारणा राखेका थिए । अभिमुखीकरणको सहजीकरण स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मी प्रकाश पाठकले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्