लक्ष्मी उप्रेती

मेचीनगर । झापाको मेचीनगर— ७ स्थित गैरीगाउँ भान्सा (खोला)मा शुक्रबार साँझ भएको घटनाको सत्यतथ्य पत्ता लगाउन सशस्त्र प्रहरी बल नेपालले आन्तरिक रुपमा छानबिन शुरु गरेको छ ।

सशस्त्र प्रहरीले टोली नै पठाएर घटनाको वास्तविक कारण पत्ता लगाउन आन्तरिक छानबिन शुरु गरेको एकजना प्रहरी अधिकृतले बताए ।

उक्त घटनाका विषयमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललाई टेलिफोनमार्फत ध्यानाकर्षण गराएलगत्तै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा विभाग प्रधान कार्यालय काठमाण्डौंले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल तिम्सिनाको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली झापा पठाएको हो । टोली आइतबार झापा आईपुगेको छ । झापाको निर्वाचन क्षेत्र नम्बर १ (यसै क्षेत्रबाट) संघीय संसदमा निर्वाचित सांसद् शर्माले झापाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईसमेतको गम्भीर ध्यानाकर्षण गराएको शर्माको सचिवालयले जनाएको छ । शर्माले घटनाको निश्पक्ष छानबिनको मागसमेत गरेका छन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभाग प्रधान कार्यालय काठमाण्डौंले गठन गरेको छानबिन समितिमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरे तथा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीका कानुन शाखामा कार्यरत सशस्त्र नायव उपरीक्षक भुवन भण्डारी रहेका छन् । टोलीले आइतबारबाट प्रारम्भिक अनुसन्धान शुरु गरेको समाचार स्रोतले जनाएको छ । टोलीका एकजना सदस्यका अनुसार घटनामा भनिएझै सामान पक्रन पुगेका सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित बोर्डर आउटपोस्ट बीओपी सतिघट्टाका प्रहरीहरुसँग घटना के भएर भयो ? कसरी भयो ? लगायत विभिन्न विषयमा पहिलो दिन टोलीले सोधपुछ गरेको छ । त्यसपछि घटनास्थल पुगेर जानेसम्म र बुझेसम्मका व्यक्तिहरुबाट समेत छानबिन समितिले घटनाका विषयमा सोधीखोजी गरेको छ । छानबिन समितिले आन्तरिक छानबिनपश्चात् लिखित प्रतिवेदन सम्बन्धित कार्यालयमा बुझाउने छ ।

घटनाको सत्यतथ्य छानबिनका लागि चौतर्फी दवाव भईरहेको छ । यसअघि शनिवारदेखि नै मानवअधिकार सञ्जाल झापाले छानबिन शुरु गरी प्रारम्भिक प्रतिवेदन तयार गरिसकेको जनाएको छ । दीपक दासको संयोजकत्वमा गठित नरेश खाती र विकास कोइराला सदस्य रहेको अनुगमन टोलीले घटना भएको स्थानमा पुगेर घाइते तथा घटनालाई नजिकबाट हेरिरहेका स्थानीयसँग सोधपुछ गरेको सञ्जालका झापा अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय उपाध्यक्षसमेत रहेका डाक्टर रुपक खनालले जानकारी दिए । सञ्जालको प्रारम्भिक प्रतिवेदन अनुसार घटनामा घाइते भएका १८ वर्षीय मिलन चापागाई एस.ई.ई. दिने विद्यार्थी हुन् । प्रारम्भिक प्रतिवेदन तयार भएको र सञ्जालले नेपाल सरकारको राष्ट्रिय मानअधिकार आयोगमा समेत घटनाका विषयमा जानकारी गराईसकेको छ । बुधबार झापाको एउटा कार्यक्रममा सहभागी हुन आउने आयोगका पदाधिकारीहरुले झापा जिल्लास्थित सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरुसंग घटनाका बारेमा सोधीखोजी गर्ने सञ्जालले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत(समाजवादी) निकट युवा संघ नेपाल झापा जिल्ला कमिटीले घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले विज्ञप्ति जारी गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउ–धनको रक्षाका निम्ति राज्यद्वारा खटाइएका अधिकारीद्वारा सर्वसाधारणमाथि ज्यानै जान सक्नेगरी भएको अन्धाधुन्ध खुकुरी प्रहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

‘अन्धाधुन्ध खुकुरी प्रहारले विधिको शासनप्रति नागरिकमा अविश्वास पैदा हुनुको साथै डर त्रास र भयको वातावरण सृजना हुने खतरा रहेकाले उक्त घट्नाको अविलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारवाही गरी कानूनी राज्यको प्रत्याभूति दिलाउन सम्पूर्ण सरोकारवाला निकायसमक्ष युवा संघ नेपाल झापा जिल्ला कमिटी जोडदार माग गर्दछ’, जिल्ला कमिटीका अध्यक्ष सुनिल थापा र सचिव प्रतिक राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । साथै घाइते बिरामीहरुको उपचारमा कुनै कमि हुन नदिन र उनीहरुले पाएको शारीरिक तथा मानसिक यातनाको उचित क्षतिपूर्ति दिलाइ न्याय गर्न पनि युवा संघले भनेको छ । शनिबार घटनाको विरोध गर्दै घाइतेको उपचार तथा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयल स्वतःस्फूर्त रुपमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, कोशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारती, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा गुल्म बीओपी काँकरभिट्टाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठ , घाइतेका आफन्त, मेची सामुदायिक सेवाकेन्द्र मेचीनगरका अध्यक्ष मुक्तिनाथ पौडेललगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिबीच भएको छलफल सकारात्मक भएपछि प्रदर्शन रोकिएको थियो ।

मेचीनगर—७ स्थित गैरीगाउँ भान्सा (खोला)मा शुक्रबार साँझ खुद्रा व्यापारी र डिउटीमा रहेका सशस्त्र प्रहरीबीच भएको विवाद चर्किएपछि घरेलु हतियार प्रयोग भएको थियो । घटनाले उग्ररुप लिएपछि स्थानीयतर्फ सशस्त्र प्रहरीका सवारी चालक सशस्त्र प्रहरी हवल्दार दुर्गाचन्द्र बस्नेतले खुकरी चलाउँदा आफूहरु ६ जना घाइते भएको स्थानीयको भनाई छ । उनीहरुको शरीरभरि चोट लागेको छ । उपचारपश्चात् एकजना फर्किएपनि बाँकीको बिर्तामोडस्थित अस्पतालमा उपचार भईरहेको छ ।

उता घाईते सशस्त्र प्रहरी हवल्दार बस्नेतको हातभरि चोट लागेको छ । गम्भीर चोट लागेका उनको पनि उपचार भईरहेको र हातको नशा काटिएको बताइएको छ । पक्राउ गरेको अवैध सामान व्यापारीले खोस्न लागेपछि घटना भएको सशस्त्र प्रहरीको भनाई छ । तर, स्थानीयको भनाई फरक छ । अन्दाजी १४ वर्षीय पुदन सरदारले भारततर्फबाट किराना सामान ल्याउँदैं गर्दा सशस्त्र प्रहरीका जवानले उनलाई पिठ्युँमा कुटपिट गरेपछि घटनाले उग्र रुप लिएको बयान स्थानीयले मानअधिकारकर्मीहरुको टोलीलाई दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्