झापा,फागुन २२ ।साहित्य कला संगम दमक झापाले वरिष्ठ कवि, समालोचक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा.डा. देवी नेपालसहित पाँच जना स्रष्टालाई पुरस्कृत गर्ने भएको छ ।

संगमका अध्यक्ष विष्णु न्यौपाने र महासचिव दीपक सुवेदीले विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।संगमले हरेक वर्ष प्रदान गर्दै आएको ‘भवानी मिश्र पुरस्कार २०८०’ स्रष्टाहरू डा. देवी नेपाल (झापा), डम्बर दाहाल (आसाम, भारत) र ताराबहादुर बुढाथोकी (संखुवासभा) लाई प्रदान गर्ने घोषणा गरेको छ । यसरी नै ‘साहित्य कलाश्री पुरस्कार२०८०’ कलाकार कमला खनाल रिजाल (दमक) र स्व. तुलसादेवी न्यौपाने स्मृति पुरस्कार २०८०’ कवि रेखा सुवेदी (मोरङ) लाई प्रदान गर्ने जानकारी दिइएको छ ।

कविता तथा काव्य सिर्जना, समालोचना, बालसाहित्य आदि क्षेत्रका झन्डै तीन दर्जन मौलिक कृतिहरू, दुई दर्जनभन्दा बढी विभिन्न तहका पाठ्यपुस्तकहरू गरी पाँच दर्जनभन्दा बढी कृतिहरू प्रकाशन गर्नुका साथै लेखन, सम्पादन, प्रशिक्षण आदिका माध्यमबाट शास्त्रीय छन्दको पुनर्जागरण तथा नेपाली साहित्यको उन्नयनका लागि विशिष्ट योगदान दिएवापत प्रा.डा. नेपाललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । साथै भारतको आसाममा बसेर नेपाली भाषा साहित्यका दुई दर्जन कृतिहरूको प्रकाशन गर्नुका साथै काव्यजागरणका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आएका भारतीय नेपाली स्रष्टा दाहाल र संखुवासभामा बसेर नेपाली लोकसाहित्यको अध्ययन, अनुसन्धान, संकलन र सम्पादनका साथै मौलिक कृतिहरूको प्रकाशन गर्दै आएका बुढाथोकीलाई नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत ‘भवानी मिश्र पुरस्कार २०८०’ प्रदान गरिने जनाइएको छ ।

यसरी नै झापाको दमकमा नै बसेर नेपाली गीत, संगीतका क्षेत्रमा साधना गर्नुका साथै नयाँ पुस्तालाई त्यसतर्फ उत्प्रेरित गर्दै आएकी युवा कलाकार कमला खनाल रिजाललाई ‘साहित्य कलाश्री पुरस्कार २०८०’ प्रदान गरिने भएको हो भने मोरङको बेलबारीमा बसेर कविता सिर्जना, समालोचना, अनुसन्धान, सम्पादन, प्रकाशन र सांगठनिक साहित्यिक अभियान सञ्चालन गर्दै आएकी स्रष्टा रेखा सुवेदीलाई ‘स्व. तुलसादेवी न्यौपाने स्मृति पुरस्कार २०८०’ प्रदान गरिने छ ।

सबैका लागि समान रूपमा जनही नगद रु. ३५ हजार, सम्मानपत्र र स्मृतिचिह्न रहेका उक्त पुरस्कारहरू आगामी चैत्र १० गते शनिवार दमकमा हुने एक विशेष कार्यक्रममा प्रदान गरिने आयोजक संस्थाका उपाध्यक्ष बिन्दु दाहाल ‘मुकदर्शक’ले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्