कुमरखोद,चैत १ । झापा गाउँपालिका वडा नं ४ टाँघनडुब्बाको नयाँबस्तीमा आज दिउँसो आगलागी हुँदा करिव १६ लाख मूल्य बराबरको क्षति भएको छ ।

दिउँसो करिव ४.२० बजेको समयमा जब्बर अन्सारीको घरमा आगलागी हुँदा सुत्नेघर , भान्साघर र गाईगोठ जलेर नष्ट भएको हो । भान्साघरमा खाना पकाउँदै गर्दा आगलागी शुरु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट अन्सारीको जस्ताले छाएको बाँसको टाटीबेरा भएको भान्सा घर र गाईगोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ भने ४ कोठे पक्की जस्ताले छाएको सुत्नेघर पनि जलेर नष्ट भएको छ ।

सुत्नेघरभित्र रहेको नगद ३ लाख ५० हजार , भान्साघर २ लाख , पक्कीघर ६ लाख , सुनचाँदी १ लाख ५० हजार , फर्निचर १ लाख ५० हजार , लत्ताकपडा ,खाद्यान्न , भाँडाकुँडा गरी १ लाख ५० हजार गरी जम्मा १६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । भद्रपुर र बिर्तामोडको दमकल , स्थानीयवासी , नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको वडा नं ४ का वडाध्यक्ष ताहिर मुल्बीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्