झापा,चैत ८ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रसिया, साइबेरियालगायत मुलुकबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा स्वदेश फर्किएका छन्। चैत सुरुदेखि पर्यटक चरा स्वदेश फर्किने गर्दछन्।

असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहने जनाउँदै चैत लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए। उनका अनुसार सुनसरी, सप्तरी र उदयपुर जिल्लाको संगमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ।

करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलंकातर्फ जाने गौतमले बताए। उनका अनुसार यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा प्रायः रहने गर्दछन्।

जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइलगायत प्रजाति पर्ने चरा विद्हरु बताउँछन्। अघिल्लो वर्षभन्दा यस वर्ष कोशीटप्पु आरक्ष क्षेत्रमा चराको संख्यामा कमी आएको कोशी संरक्षण केन्द्रका प्रमुख गौतमले बताए। उनका अनुसार ‘मिड–विन्टर वाटर वर्ड सेन्सस–२०२४’ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ५३ प्रजातिका पाँच हजार पाँच सय २७ संख्यामा चरा फेला परेका छन्। गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चराको तथ्यांक रहेको उनको भनाइ छ।

बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र संख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए। गत पुस २५ देखि २९ गतेसम्म भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्यांक सार्वजनिक गरिएको थियो। गौतमका अनुसार कोशीमा सबैभन्दा धेरै आठ सय ४८ को संख्यामा सिलसिले हाँस फेला परेका छन्।

उच्च संख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरंग एक सय ८७ रहेका उनले जानकारी दिए। कोशीटप्पु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको संख्या घटेको उनले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्