झापा,चैत १४ । खोटाङको एउटा सामुदायिक विद्यालयबाट एसइई दिने चार जना मात्र विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी संख्या घट्दैजाँदा जिल्लाको ऐसेलुखर्क गाउँपालिका –६ ज्यामिरे सल्लेस्थित शान्तोदय माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने चार जना मात्र विद्यार्थी रहेका हुन् ।

कक्षा १–१० सम्म पठनपाठन हुने सो विद्यालयमा अहिले जम्मा ६२ जना विद्यार्थी छन् । हाल कक्षा ९ मा ५ जना मात्र विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक दिपबहादुर राईले बताए ।

प्रधानाध्यापक राईकाअनुसार अर्को वर्ष पनि शान्तोदयबाट एसइई मा ५ जनाभन्दा बढी सहभागी हुने देखिदैन् । शान्तोदय माविमा कुनै समय एउटा कक्षामा ५० जनासम्म विद्यार्थी थिए । तर अहिले सोही विद्यालयबाट ४ जना विद्यार्थी एसइईमा सहभागी हुँदैछन् ।

अत्यधिक बसाइसराई र जन्मान्तर कमहुँदा विद्यार्थी संख्या निरन्तर घटेको प्रधानाध्यापक राईको भनाइ छ । अघिल्लो वर्ष १४ जना विद्यार्थी एसइईमा सहभागी थिए । सो विद्यालयको परीक्षा केन्द्र देउराली माविमा रहेको छ ।

ज्यामिरे सल्लेको शान्तोदय माविजस्तै जिल्लाका धेरै सामुदायिक विद्यालयको विद्यार्थी संख्या खासै देखिदैन् । एसइईमा सहभागी हुने ९ देखि २० जना विद्यार्थी संख्या भएको विद्यालय धेरै रहेका छन् ।

देशभर चैत १५ अर्थात् बिहीबारबाट एसइई परीक्षा सुरु हुँदैछ । परीक्षाका लागि खोटाङमा २४ वटा परीक्षा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्