झापा,चैत २० । संघीय सरकार,बिर्तामोड नगरपालिका र उपभोक्ताको करोडौं रकम खर्च गरेर जडान गरिएको सौर्यबत्ती काम नलाग्ने भएपछि त्यसलाई हटाइने भएको छ ।

सौर्यबत्तीको ठाउँमा मासलाइट जडान गर्ने पहल थालिएको हो । उज्यालो नगर बनाउन बिर्तामोडका धेरै क्षेत्रमा २०७३ सालमा सौर्यबत्ती जडान गरिएको थियो । पाँच वर्ष वारेन्टी दिएर जडान गरिएको सौर्यबत्ती दुई वर्ष नबित्दै बिग्रियो । बिर्तामोडमा जडान गरिएका अधिकांश बत्ती काम नलाग्ने गरी बिग्रिएको बर्षौ भइसक्यो । सडकको छेउमा पोलमाथि सोलार बत्ती ठडिएको देखिएपनि ती बिनाकामका हुन् ।

त्यसबेला उज्यालो नगर बनाउन बिर्तामोडसंगै झापाका सात नगरपालिकामा सौर्यबत्ती जडान गरिएको थियो। बिर्तामोडमा सौर्यबत्ती जडान गर्नकै लागि सरकारले चार करोड ६० लाख बजेट दिएको थियो। नगरपालिकाका अनुसार एउटा बत्ती जडान गर्न एक लाख १२ हजारसम्म खर्च भएको छ। तर, पाँच वर्ष वारेन्टी भनिएको बत्ती दुई वर्ष नपुग्दै बल्न छाडेको हो। सोलार प्यानलको २५ वर्षको र ब्याट्री, चार्ज कन्ट्रोलर र लाइटको पाँच वर्षको वारेन्टी दिइएको थियो । सौर्यबत्तीमा खर्च भएकोमध्ये सरकारको ६५, बिर्तामोड नगरपालिकाको १५ र स्थानीयको २० प्रतिशत लागत छ। बिर्तामोड क्षेत्रमा २२ वटा समिति गठन गरेर बत्ती जडान गरिएको थियो। बत्ती जडान गर्न उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको संयोजकत्वमा मूल समिति गठन गरिएको थियो।

बिर्तामोडमा जडान गरिएका सौर्यबत्तीमध्ये १३३ वटा बल्ने गरेपनि २१४ वटा बल्दैनन् । चारपाने पश्चिम पाँचवटा बल्ने १५ वटा नबल्ने , राजमार्ग पश्चिम १७ वटा बल्ने २४ वटा नबल्ने ,बेलडाँगी रोड ४ वटा बल्ने २० वटा नबल्ने ,सहारा नेपाल रोड एउटा बल्ने १२ वटा नबल्ने ,मोहनमाया मावि अगाडि दुईवटा बल्ने ८ वटा नबल्ने ,अतिथि सदन क्षेत्र ६ वटा बल्ने ९ वटा नबल्ने ,कृष्ण हल क्षेत्र ८ वटा बल्ने ,पूर्व क्षेत्र ३३ वटा बल्ने २५ वटा नबल्ने ,कृषि थोक क्षेत्र ११ वटा बल्ने १६ वटा नबल्ने,बोलबम मण्डी १३ वटा बल्ने २२ वटा नबल्ने ,पुरानो भद्रपुर रोड ५ वटा बल्ने १९ वटा नबल्ने, भद्रपुर रोड ५ वटा बल्ने १९ वटा नबल्ने , सैनिकमोड क्षेत्र ३ वटा बल्ने ८ वटा नबल्ने अबस्थामा पुगेका छन् ।

बिर्तामोड नगरपालिकाले बिग्रिएका सौर्यबत्ती मर्मत गर्ने कार्य नगरेको होइन । तर, मर्मत गरेको भोलिपल्ट नै बल्न छोडेपछि सौर्यबत्तीलाई त्यत्तिकै छोडिएको हो ।‘ बनाएको भोलिपल्ट नै बत्ती बिग्रिन्छ ’ नगरपालिकाका अधिकृत मेघराज बास्तोलाले भने,‘त्यसकारण मर्मत नगरी छोडिएको हो ।’

पूर्वपश्चिम राजमार्गमा परेका सौर्यबत्ती एशियन हाइवे निर्माणका क्रममा हटाइने भएको छ भने अन्य क्षेत्रमा बिग्रिएका सोलार बत्तीलाई प्रतिष्थापन गर्ने तयारी हुँदैछ । पछिल्लो समय प्रभावकारी देखिएको मासलाइटलाई सौर्यबत्तीको ठाउँमा जडान गर्ने पहल भइरहेको बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपानेले बताए । उनले बिजुलीबाट मासलाइट बाल्दा महशुल कसरी तिर्ने भन्ने विषयमा स्रोतको खोजी भइरहेको जानकारी दिए ।सौर्यबत्ती काम नलाग्ने भएपछि बिर्तामोडका केही ठाउँमा मासलाइट जडान गरिसकिएको छ । मुक्तिचौकमा एक्सेल डेभलपमेन्ट बैंकको सहयोगमा मासलाइट जडान गरिएको छ भने बिर्तामोडको बसपार्कमा बसपार्क समितिको पहलमा दुईवटा मासलाइट जोडिएको छ । त्यस्तै बिर्तामोड ३ नं वडा कार्यालयको सहयोगमा बिर्ताबजार र सैनिकमोडमा गरी दुईवटा मासलाइट जडान गरिएको छ ।बत्तीको अभावमा समसाँझै बिर्तामोडका पसलहरु बन्द हुने गरेका छन् । वाणिज्य संघले रात्रिकालीन बजारको एजेन्डा उठाएपनि बत्तीको व्यवस्था नभएसम्म त्यो संभव देखिएको छैन ।

सोलार जडान शीर्षकमा मेचीनगर नगरपालिकाले चार करोड, अर्जुनधाराले १७ लाख, कनकाईले ५४ लाख, शिवसताक्षीले १० लाख, दमकले तीन करोड ५० लाख र गौरादहले १६ लाख सरकारी बजेट प्राप्त गरेका थिए। भद्रपुर नगरपालिकालाई त बजेट भाषणमार्फत ५० करोड विनियोजन भएको थियो। ती नगरपालिकामा पनि बत्ती जडान भएको छ तर धेरै ठाउँमा नबल्ने समस्या छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडक बत्ती जडानका लागि १३ करोड प्रदान गरेसँगै झापामा जडान गरिएको थियो।२०७२ माघ १७ गते स्थानीय विकास मन्त्रालयले ‘जनसहभागितामा आधारित सौर्य सडक बत्ती’ योजना सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्