गौरीगञ्ज , चैत २० । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि गौरीगञ्जका सीमावासीसंग अन्तरक्रिया गरेको छ ।

‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्न सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्याललगायतका सुरक्षा अधिकारीहरु उपस्थित भएका थिए ।

गौरीगञ्ज गाउँपालिका वडा नं. ६ स्थित खजुरगाछी माविको प्राङ्गणमा सोमवार सीमाका बासिन्दासँग आयोजित प्रत्यक्ष अन्तरक्रियामा राजश्व चुहावट तथा सीमा अपराधका समस्या उठान भएको थियो । कार्यक्रमका अधिकांश सहभागीहरुले झापा गाउँपालिकास्थित छोटी भन्सार, कुञ्जिवारी छोटी भन्सार र आठमौजा छोटी भन्सारको अबस्थाका बारेमा दर्शाएका थिए । उनीहरुले लागूऔषधको ओसार पसार , दुव्र्यसनका समस्या पनि उठाएका थिए । त्यस अवसरमा गौरीगञ्ज ४ मा बस्ने मुसहर समुदायका अतिविपन्न परिवारका बुबाआमासमेत गुमाएकी गौरीया प्राविमा कक्षा ३ मा अध्ययनरत रानी ऋषिदेवलाई एपीएफ स्कूलमा कक्षा १० सम्म निःशुल्क अध्ययन गर्ने छात्रावृत्ति सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौड्यालले प्रदान गरेका थिए । साथै प्रमुख अतिथि पौड्यालले अति विपन्न १५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालयलाई २ थान खेलकुद सामग्री वितरण गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति अन्जनीकुमार पोखरेलले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशमध्ये देशको अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेकोमा यसलाई थप प्रभावकारी बनाउन सीमा ईलाकामा बसोबास गर्ने स्थानीय जनताको साथ र सहयोग अपरिहार्य रहने बताए । उनले सीमाबासी जनताको दैनिक जीवनमा सरोकार राख्ने विविध बिषयमा सशस्त्र प्रहरी बल, नेपालको संलग्नता भएमा सुमधुर सम्बन्ध स्थापित भई कार्यक्षेत्रमा सहज र सुरक्षित वातावरण सृजना हुने हुँदा सीमावासीसँग सशस्त्र प्रहरी बल, नेपालले सचेतना, अन्तरक्रिया , सीपमुलक तालिमलगायतका कल्याणकारी कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए ।

जिल्लामा शान्ति सुरक्षा, सीमा अतिक्रमण, सीमा अपराध नियन्त्रण, सीमा ईलाका र सीमा स्तम्भहरुको रेखदेख तथा राजश्व संकलन, चोरी, अबैध निकासी पैठारीमा नियन्त्रण गरी राजश्व अभिबृद्धि र बिभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न साथै जिल्लाको सीमा ईलाकामा ४ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र १७ वटा बिओपिहरु तैनाथ रहेको र अन्य विभिन्न स्थानहरुमा १५ वटा बिओपिहरु स्थापनाको लागि प्रस्ताव गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सीमाका बासिन्दाहरु वास्तविक सीमारक्षक भएको हुँदा उनीहरुको गुनासा सम्बोधन गर्न राज्य सकारात्मक रहेको बताए । उनले सीमामा तैनाथ सुरक्षाकर्मीहरुलाई उच्च मनोबलका साथ खट्न निर्देशनसमेत दिए ।

झापा जिल्लामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म १४४.०२ किलोमिटर लामो सीमा क्षेत्र रहेको छ । हरेक किलोमिटर सीमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर निगरानी गरिरहेको छ ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुँवर, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसी,सशस्त्र सीमा सुरक्षा वल गौरीगञ्जका डीएसपी राज बस्नेतलगायत झापा गाउँपालिकाका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका जनप्रतिनिधि र सीमाबासी सहभागी थिए ।

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत चैत ७ गतेबाट मेचीनगर नगरपालिका १ स्थित तिरिङ्गबाट सशस्त्र प्रहरी बलले संयुक्त पैदलयात्रा तथा सीमा ईलाकामा बसोबास गर्ने स्थानीयबासीहरुसंग छलफल तथा अन्तरक्रिया शुरुवात गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्