मेचीनगर, चैत ३० । मेचीनगरमा आज अर्को अजिंगर भेटिएको छ ।

चरा तथा वन्यजन्तु खोजकर्ता देवेन्द्र खरेलका अनुसार मेचीनगर–७ को जोरसिमल क्षेत्रमा पूर्वपश्चिम राजमार्गनजिकै ७ फिट ९ इञ्च लामो र ६ किलो ६०० ग्राम तौलको अजिंगर भेटिएको हो ।
एशियाली राजमार्ग निर्माणका लागि सडक छेउका रुख काटेर ग्राउन्ड क्लियरिङ गर्ने क्रममा विहान ८ बजेतिर उक्त अजिंगर देखिएपछि उद्धारकर्ता खरेललगायतको टोलीलाई बोलाइएको थियो ।
अजिंगरलाई त्यहाँबाट उद्धार गरेर खरेल नेतृत्वको टोलीले बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक वनमा सकुशल छोडेको छ ।
केही दिनअघि मेचीनगर–७ कै सतिघट्टा क्षेत्रमा यस्तै अजिंगर फेला परेको थियो । त्यसलाई पनि खरेलकै टोलीले उद्धार गरेर पाँचपोखरी वनमा लगेर छोडेको थियो ।