झापा,बैशाख १५ । मोरङको रङ्गेली –३ स्थित बाबुसाहेव टोलको सन्थाल बस्तीका अग्निपीडितलाई नगरपालिकाले घर निर्माण गरिदिने भएको छ । बाबुसाहेव टोलमा गत चैत ३ गते आगलागी हुँदा टोलका २३ घर जलेर नष्ट भएका थिए ।

रङ्गेली नगरपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले २२ वटा घर बनाएर पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । अग्निपीडित प्रभावित नीजि आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यविधि २०७७ अनुसार घर निर्माणको प्रक्रिया अघि बढाएको हो । अग्निपीडितले क्षति पुगेका नीजि आवासको क्षति विवरण नगरपालिकामा पेश गरेपछि नगरले अग्निपीडितलाई पुनस्र्थापनाको प्रक्रिया अघि बढाएको थियो । कार्यविधिको दफा ३ बमोजिम लाभग्राही पहिचानको काम सकिएको वडाध्यक्ष भरत प्रसाईंले बताए । पहिचान गर्ने क्रममा एक जना अग्निपीडितको अर्को स्थानमा पनि पक्की घर देखिएकाले अब २२ जना पीडितको घर मात्र बन्ने उनले बताए ।

कुल ६ लाख ५५ हजार रुपियाँमा निर्माण हुने घरका लागि कोशी प्रदेश सरकारले ३० प्रतिशत खर्च व्योहोर्ने छ । यस्तै स्थानीय सरकारले १४ प्रतिशत खर्च व्योहोर्ने भएको छ भने सङ्घीय सरकारले ५५ प्रतिशत हुन आउने रकम तीन लाख ५५ हजार उपलब्ध गराउने छ । घर निर्माणका लागि डेमिडेनस र लुथरन वल्र्ड फेडेरेसनले समेत सहयोग गर्ने भएका छन् । घरसँगै अलग्गै भान्छा कोठा, ट्युववेल र शौचालय निर्माण हुनेछ ।

नगरपालिकाले बस्ती पुनर्निर्माणका लागि सर्वसाधरणसँग क्युआर कोड मार्फत सहयोग आह्वान गरेको थियो । हालसम्म क्युआर कोड मार्फत ६ लाख १५ हजार रुपियाँ नगद सङ्कलन भइसकेको छ । अग्नि पीडितहरूलाई वर्षायाम सुरु हुनु अगावै घर हस्तान्तरण हुने गरी काम गर्ने नगर प्रमुख दिलिपकुमर बगडियाले बताए । बगडियाका अनुसार घामपानी छल्ने सम्मको घर असार मै बन्छ, बाँकी काम दशैंसम्ममा सक्ने गरी गरिने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्