झापा, बैशाख १७ । इलाम–२ मा उपनिर्वाचनको जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

आज बिहानसम्म भएको गणनाअनुसार उनले ७ हजार ६ सय ७७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् ।
हिजो मध्याह्न मतगणना सुरु हुँदा कांग्रेसका खड्का अगाडि देखिएका थिए । फाकफोकथुम गाउँपालिका–१, २, ३ को गणनापछि खड्कालाई उछिनेका नेम्वाङले त्यसपछि निरन्तर अग्रता लिएका हुन् । विगतमा यो कांग्रेसको पकड क्षेत्र थियो । यस्तै पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ४ हजार ५८ मतका साथ तेस्रो स्थानमा छन् भने निकै चर्चामा रहेका रास्वपाका मिलन लिम्बूले १ हजार १ सय ६५ मत मात्र पाएका छन् । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आज साँझसम्म नतिजा सार्वजनिक गर्नेगरी गणना भइरहेको बताए । कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा शनिबार भएको मतदानमा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो भने कांग्रेसबाट खड्का दोहोर्याएर उठेका थिए । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । गठबन्धनविहीन नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले १९ हजार ६ मत पाएका थिए । यस पटक माओवादी एमालेतिर छ भने कांग्रेस एक्लै भिडेको छ ।
त्यस्तै बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनको मतगणनामा भने कांग्रेसले अग्रता लिएको छ । आज बिहानदेखि कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएका हुन् । पछिल्लो मतपरिणामअनुसार सिंहले ७ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् । आइतबार मध्यरातसम्म अग्रता कायम गरेका एमालेका दमनबहादुर भण्डारी भने झिनो अन्तरले पछि परेका छन् । उनले ७ हजार २ सय २८ मत प्राप्त गरेका छन् ।यस्तै माओवादीका जनक बुढाले २ हजार ८ सय ९५ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत ल्याएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहका अनुसार आज दिउँसोसम्म अन्तिम मत परिणाम सार्वजनिक हुन सक्ने अनुमान छ । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको छ । त्यहाँ ११ दलका उम्मेदवार थिए ।