झापा, जेठ २६ । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम महिला खो–खो प्रतियोगिताको तयारी पूरा भएको छ । भोक्राहा नरसिंह गाउँपालिका चिरौलीको सहयोग तथा प्रदेश स्तरीय खो–खो खेलकुद उपभोक्ता समितिको आयोजना र जिल्ला खो–खो संघ सुनसरीको सहकार्यमा उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खो–खो प्रतियोगिता आयोजनाको तयारी भएको हो । भोक्राहा नरसिंहका उपाध्यक्ष सुनिताकुमारी उरावका अनुसार प्रतियोगिता जेठ २९ देखि ३१ गते तीन दिनसम्म सञ्चालन हुने छ ।

नेपालमै पहिलो पटक उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खो–खो प्रतियोगितामा राष्ट्रिय खो–खो खेलाडीको सहभागिता रहने उरावले जानकारी दिइन् । आयोजकले दिएको जानकारी अनुसार उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खो–खो प्रतियोगितालाई थप आकर्षक बनाउनका लागि त्रिभुवन आर्मी क्लब काठमाडौँसहित मोरङ, धनकुटा, धनुषा, सर्लाही, बारा, सुनसरी लगायतका टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए ।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा ६ जिल्ला र विभागीय टिम त्रिभुवन आर्मी क्लब गरी सात वटा टिमको सहभागिता रहने छ । त्यहाँ मोरङ, धनकुटा, धनुषा, सर्लाही , बारा, सुनसरी लगायतका ७ वटा टिमबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद २५ हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी उपविजेता टोलीले १५ हजार रुपियाँ र तेस्रो हुने टोलीले पाँच हजार एक रुपियाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका सर्वश्रेष्ठ चेजर र रनरलाई पनि जनही १० हजार रुपियाँका दरले पुरस्कृत गरिनेछ । सुनसरी जिल्ला खो खो संघका अध्यक्ष तथा खो–खो संघ कोशी प्रदेशका सचिव कपिलदेव यादवले पहिलो पटक महिला समूहको खो खो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिए ।

नेपालमा खो खो खेलको सुरुवात वि.सं.२०५२ सालमा भएको थियो । यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएपनि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खो–खो प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्